फ्रान्सको दक्षिणी क्षेत्रमा रहेको जंगलमा लागेको भीषण डढेलोपछि ले पोर्गे गाउँमा दोस्रो विश्वयुद्धकालीन करिब ४०० वटा बम र गोलाबारुदको भण्डार फेला परेको छ।
डढेलोका क्रममा सुनिएका विस्फोटहरू सुरुमा ग्यास सिलिन्डर पड्किएको अनुमान गरिएको थियो। तर स्थानीय अग्नि नियन्त्रण कमाण्डरका अनुसार ती विस्फोटहरू गर्मीका कारण सक्रिय बनेका दोस्रो विश्वयुद्धकालीन विस्फोटक पदार्थका हुन सक्ने अनुमान गरिएको छ।
मेयर मार्शल जानिनेट्टीका अनुसार आगलागीको दोस्रो रात १०० भन्दा बढी विस्फोटको आवाज सुनिएको थियो। उनले ती आवाजलाई ‘युद्धको आवाज’ जस्तै अनुभव भएको भन्दै फ्रान्सेली समाचार संस्था फ्रान्स इन्फोलाई बताएका थिए।
डिमिनिङ (विस्फोटक निष्क्रिय पार्ने) अभियान सञ्चालन गरिएपछि अधिकांश स्थानीय बासिन्दा घर फर्किएका छन्।
यद्यपि केही क्षेत्र अझै पनि सुरक्षाका कारण प्रतिबन्धित राखिएको मेयरले जानकारी दिएका छन्। डढेलोका कारण उक्त क्षेत्रमा १८० भन्दा बढी घर पूर्ण रूपमा नष्ट भएका छन्।
‘हाम्रो नगरपालिका क्षेत्रमा जमिनमुनि गाडिएका गोलाबारुदका भण्डार रहेछन् भन्ने हामीलाई थाहा थिएन। डढेलोका कारण ती विस्फोट भए,’ मेयर जानिनेट्टीले बताएका छन्। उनका अनुसार विस्फोटक सामग्री विभिन्न स्थानमा छरिएका थिए, केही त घरभित्रसम्म पुगेका थिए।
मेयरले सोमबार इन्स्टाग्राममार्फत समुद्री तट, क्याम्प साइट र ला जेनी गाउँतर्फको पहुँच अस्थायी रूपमा प्रतिबन्धित गरिएको जानकारी दिएका छन्।
फ्रान्सेली सञ्चारमाध्यमका अनुसार फेला परेका ऐतिहासिक हतियारहरूमा जर्मन र फ्रान्सेली सेनाले प्रयोग गरेका मोर्टार गोला तथा ट्याङ्कविरोधी गोलाहरू समेत रहेका छन्।
यी विस्फोटक पदार्थ गिरोन्डे क्षेत्रमा करिब १० दिनसम्म लागेको भीषण जंगलको आगो नियन्त्रणमा आएपछि फेला परेका हुन्।
आगलागीपछि सार्वजनिक भएका तस्बिरहरूमा स्थानीय परिवारहरू आफ्ना जलेका घरका अवशेष संकलन गरिरहेको देखिन्छ।
सोमबार फ्रान्सेली प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले डढेलोसँग जुध्ने अग्नि नियन्त्रकहरूको प्रशंसा गर्दै फ्रान्स अभूतपूर्व संकटको सामना गर्न दृढ रहेको बताए।
उनले गिरोन्डे क्षेत्रमा आगो नियन्त्रणको अभियान नयाँ चरणमा प्रवेश गरेको र विस्थापितहरू बिस्तारै आफ्ना घर फर्किरहेको उल्लेख गरेका छन्।
पछिल्ला दुई सातादेखि युरोपका विभिन्न देशमा डढेलो फैलिएको छ। विशेषगरी फ्रान्स र स्पेनमा ३ लाख ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
फ्रान्स सबैभन्दा बढी प्रभावित देशमध्ये एक बनेको छ। दक्षिण–पश्चिम क्षेत्रमा मात्रै करिब ४२ हजार हेक्टर वन क्षेत्र जलेको छ, जसलाई दोस्रो विश्वयुद्धयताकै सबैभन्दा ठूलो वन डढेलोमध्ये एक मानिएको छ।
प्रकाशित: १९ श्रावण २०८३ १३:११ मंगलबार





