१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सीमा विवाद : भारत-चीनबीच सहमति हुने संकेत

भारत र चीनबीच महिनौंदेखि जारी सीमा विवाद समाधान हुने संकेत देखिएको छ।

भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार दुई देशका सेनाबीच पूर्वी लद्दाख (भारत–चीन सीमा) मा दुवै पक्ष केही पछि हट्ने विषयमा कुरा अघि बढेकाे हाे। 

यस प्रस्तावमा दुवै पक्षबीच सहमति भएका खण्डमा चार महिनादेखि जारी वार्ताका क्रममा यो ठूलो उपलब्धि हुनेछ।  

लद्दाखस्थित गलवान उपत्यकाबाट सेना पछि हटे पनि अन्य क्षेत्रमा यस्तो हुन सकेको छैन।  

हिन्दुस्तान टाइम्सले लेखेको खबरअनुसार यस प्रस्तावमा यही नोभेम्बरको ६ तारिख चुसुल क्षेत्रमा कोर–कमान्डर तहबीच भएको आठौं चरणको वार्तामा चर्चा भएको हो।

भारतीय सेनाका एक अधिकारी भन्छन्, ‘यस प्रस्तावमा छलफल जारी छ तर सम्झौतामा हस्ताक्षर हुन बाँकी छ।’

भारत र चीनबीच दुई देशको सीमाना लद्दाख क्षेत्रस्थित वास्तविक नियन्त्रण रेखा (एलएसी) मा केही महिनायता विवाद भइरहेको छ।  

गत जुन १५ मा दुई देशका सेनाबीच झडप हुँदा भारतका २० सैनिकको मृत्यु भएको थियो। तर चीनतर्फको क्षतिबारे अहिलेसम्म आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

त्यसयता दुई देशबीच सीमा विवाद चर्किएको हो। तर यसमा सहमति गर्न दुवै पक्षले प्रयास पनि जारी राखेका छन्।  

प्रकाशित: २७ कार्तिक २०७७ ०८:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App