१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विश्वका १० प्रतिशत मानिस संक्रमित

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संसारभरका १० प्रतिशत मानिस कोरोना भाइरस संक्रमित हुन सक्ने आँकलन गरेको छ। सोमबार स्विट्जरल्यान्डको जेनेभास्थित डब्लुएचओको मुख्यालयमा आयोजित एक बैठकले हरेक १० जनामध्ये एकलाई कोरोना भाइरस संक्रमण भइरहेको हुँदा यो संख्या अझै बढ्न सक्ने चेतावनी दिएको छ।

डब्लुएचओका अनुसार संसारभर ३ करोड ५४ लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण भएको छ। तर संक्रमितको वास्तविक संख्या ८० करोडनजिक रहेको डब्लुएचओको अनुमान छ। विज्ञहरूले यसअघिदेखि लगातार वास्तविक कोरोना भाइरस संक्रमितको संख्या पुष्टि भएको भन्दा अधिक रहेको बताउँदै आएका छन्। डब्लुएचओका आपतकालीन सेवा प्रमुख डा. माइकल रायनले संसारभरका बहुसंख्यक मानिस कोरोना भाइरस संक्रमणको अति जोखममा रहेको जानकारी गराए। ‘संसारभरका करिब ३ करोड ५४ लाख मानिसलाई कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ,’ उनले भने, ‘तर वास्तविक संक्रमितको संख्या योभन्दा बढी हुन सक्छ। कोरोना भाइरस महामारी सुरु भएको महिनौं भइसक्दा समेत यसको अन्त्य हुने संकेत नदेखिनु चिन्ताको विषय हो।’

विभिन्न प्रतिबन्ध खुकुलो बनाउँदै जाँदा धेरै देशमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर देखिएको डब्लुएचओले जनाएको थियो। विभिन्न देशको अवस्थाअनुसार कोरोना भाइरस महामारीको प्रभाव पनि फरक रहेको पाइएको छ,’ उनले भनेका थिए, ‘यसको असर सहर र गाउँ तथा फरक समूह र समुदायमा एकैनासको छैन। तर सबै मानिस जोखिममा भने छन्। कोरोना भाइरस महामारी रोकिने कुनै संकेत नदेखिएको र अरू थप जोखिम निम्त्याइरहेको छ। तर हामीसँग कोरोना भाइरस संक्रमण रोकेर तत्काललाई ज्यान बचाउन सक्ने उपकरणहरू भने छन्।’ कोरोना भाइरस महामारीको १० महिना भइसक्दा अझै नियन्त्रणमा आउने वा कमजोर हुने संकेत देखिएको छैन।

प्रकाशित: २१ आश्विन २०७७ ०१:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App