९ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनको औद्योगिक उत्पादनमा सामान्य वृद्धि

चीनको आद्योगिक उत्पादन गत अगष्ट महिनामा वृद्धि भएको छ। निर्यात बजारको मागमा सामान्य गिरावट आएपनि देशभित्रको माग बढेपछि औद्योगिक उत्पादनमा वृद्धि भएको सर्भेक्षणले देखाएको छ।  

चिनियाँ तथ्याँक विभागले सोमबार सार्वजनिक गरेको मासिक खरिद सूचक (पिएमआई) मा जुलाईको भन्दा औद्योगिक सूचकमा सामान्य गिरावट आए पनि समग्रमा सुधारोन्मुख देखिएको जनाएको छ। औद्योगिक सूचक गणना गर्ने पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पिएमआई) मा जुलाईमा ५१.१ विन्दु रहेकामा अगष्टमा ५१ मा झरेको देखिएको छ।  

कूल १०० अंकको पिएमआई विन्दु ५० भन्दा बढी भएमा औद्योगिक गतिविधि सकारात्मक रहेको मानिन्छ।  

निर्यात माग सामान्य गिरावट आए पनि त्यसको घट्ने दर निकै कम रहेको छ। यसको मापनमा ४८.४ बाट ४९.१ विन्दुले सकारात्मक भएको छ।  

गत वर्षको डिसेम्बरबाट चीनमा कोरोना महामारी फैलिएपछि चीनमा पहिलोपटक लकडाउन गरिएको थियो। गत मार्चमा कोरोना महामारीलाई आफूहरुले परास्त गरेको घोषणा गरेपछि चीनले औद्योगिक उत्पादनका साथै बजार खुला गर्न थालेको थियो।  

चीनको उपभोग्य मागमा पनि सुधार आएको छ तर बेइजिङले चाहेझैं प्रगति हुन सकेको छैन। संयुक्तराज्य अमेरिका र अरु महत्वपूर्ण बजारमा कोरोनाभाइरस संक्रमितको संख्या निरन्तर बढेपछि चीनको निर्यात बजारमा अपेक्षित सुधार आउन सकेको छैन।  

जनवरीदेखि मार्चसम्म करिब ६.८ प्रतिशतले खुम्चिएको चिनियाँ अर्थतन्त्र अप्रिलदेखि जुनसम्मको तीन महिनाको अवधिमा एकाएक ३.२ प्रतिशतले वृद्धि भएको थियो। कारखाना उत्पादनमा राम्रो सुधार आए पनि खुद्रा, रेष्टुराँ र अन्य सेवा उद्योगहरु अझै पनि संघर्षरत छन्।

प्रक्षेपणहरुले यस वर्षको अन्त्यतिर चिनियाँ अर्थतन्त्र गिरावट आउने अनुमान गरेका छन् किनभने त्यसबखत विश्व बजारमा मास्क, सर्जिकल ग्लोब र अन्य चिकित्सा उपकरणको मागमा कमी आउने थाल्नेछ।

प्रकाशित: १५ भाद्र २०७७ ०८:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App