१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा ३१ हजार स्वास्थ्यकर्मीको अनिश्चितकालीन हडताल

अमेरिकाको क्यालिफोर्निया राज्यमा काइजर पर्मानेन्टे स्वास्थ्य सेवा संस्थामा कार्यरत ३१ हजारभन्दा स्वास्थ्यकर्मी सोमबार बिहानदेखि अनिश्चितकालीन हडतालमा उत्रिएका छन्। 

यो हडताल अमेरिकाको सबैभन्दा ठुलो गैरनाफामुखी स्वास्थ्य सेवा प्रणालीमा हालसालैको प्रमुख श्रमिक आन्दोलन हो।

क्यालिफोर्निया संयुक्त नर्स संघ तथा स्वास्थ्य सेवा पेशाकर्मी संघअन्तर्गत करिब ३१ हजार कर्मचारी हडतालमा सहभागी छन्। हडतालमा दर्ता प्राप्त नर्स, नर्स एनेस्थेसिया विशेषज्ञ, औषधि विज्ञ, सुँडेनी, चिकित्सक सहयोगी, उपचारक, पोषण विज्ञ तथा अन्य विशेषज्ञ स्वास्थ्यकर्मीहरू छन्।

क्यालिफोर्नियाका विभिन्न स्वास्थ्य केन्द्रहरूमा बिहानैदेखि धर्ना सुरु भएको छ। उत्तरी क्यालिफोर्नियाका रोजभिल, सान्ता क्लारा र ओकल्यान्डस्थित प्रमुख अस्पतालहरूमा प्रदर्शन भइरहेको छ। ओकल्यान्डमा काइजर पर्मानेन्टेको केन्द्रीय कार्यालय छ। उत्तरी र दक्षिणी क्यालिफोर्नियाका अन्य क्षेत्रमा पनि आन्दोलन विस्तार हुने योजना छ भने हवाई राज्यको एक अस्पतालमा पनि हडताल गरिएको छ।

‘यो हडताल टार्नै नसकिने अवस्थामा पुगेको थियो,’ पश्चिमी तटमा कार्यरत एक नर्स साराह एचले भनिन्। ‘सधैं कर्मचारी अभाव हुन्छ, अत्यधिक काम र लामो कार्यघण्टाका कारण शारीरिक तथा मानसिक थकान बढेको छ।’

लामो समयदेखि श्रम सम्झौतासम्बन्धी वार्ता अवरुद्ध भएपछि हडताल सुरु भएको हो। यसअघि मार्च महिनामा पाँच दिनसम्म चलेको हडतालमा पश्चिमी अमेरिकाका विभिन्न राज्यका ४० हजारभन्दा बढी कर्मचारी सहभागी भएका थिए। श्रमिक सम्झौता मार्च ३० गते समाप्त भएको थियो भने वार्ता सात महिनाभन्दा बढी समयदेखि जारी छ।

युनियन नेताहरूका अनुसार तलब वृद्धि, दीर्घकालीन कर्मचारी अभाव, कार्यस्थलको सुरक्षा र बढ्दो थकानजस्ता विषयमा सहमति नजुटेकाले हडतालको निर्णय गरिएको हो। युनियनले चार वर्षमा कुल २५ प्रतिशत तलब वृद्धि माग गरेको छ भने काइजर पर्मानेन्टेले २१ दशमलव ५ प्रतिशत तलब वृद्धि प्रस्ताव गरेको छ, जसलाई संस्थाले हालसम्मकै सबैभन्दा बलियो प्रस्ताव भनेको छ। 

हडतालका क्रममा पनि बिरामी सेवामा असर नपरोस् भनेर वैकल्पिक व्यवस्था गरिएको काइजर पर्मानेन्टेको भनाइ छ। चिकित्सक, व्यवस्थापक, स्थानान्तरण गरिएका कर्मचारी तथा अस्थायी स्वास्थ्यकर्मी परिचालन गरिने जनाइएको छ। अधिकांश अस्पताल र स्वास्थ्य केन्द्र खुला रहनेछन् भने आपतकालीन सेवा निरन्तर सञ्चालन हुनेछ।

युनियनको अनुमानअनुसार क्यालिफोर्नियाका करिब प्रत्येक चार जनामध्ये एक जनाले काइजर पर्मानेन्टेबाट स्वास्थ्य सेवा लिन्छन्। जारी हडतालका कारण क्यालिफोर्निया र हवाईका दर्जनौं अस्पताल तथा सयौं क्लिनिक प्रभावित छन्। एजेन्सी 

प्रकाशित: १४ माघ २०८२ ०६:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App