१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

अमेरिकाका लागि सबैभन्दा ठूलो खतरा चीन : अमेरिकी गुप्तचर

एफबिआईका निर्देशक क्रिस्टोफर रे

अमेरिकी गुप्तचर एजेन्सी एफबिआईले अमेरिकाका लागि सबैभन्दा खतरा चीन भएको बताएको छ ।  

एफबिआईका निर्देशक क्रिस्टोफर रेले वासिङटनस्थित हडसन इन्स्टिच्युटमा मन्तव्य दिँदै चीन सरकारले गरिरहेको जासुसी एवं सूचना चोरी अमेरिकाको भविष्यका लागि अहिलेसम्मकै ठूलो र दीर्घकालीन खतरा भएको बताएका हुन् ।

चीनले विदेशमा बसोबास गरिरहेका चिनियाँ नागरिकलाई लक्षित गरी धेरै तहमा अभियान चलाइरहेको छ, उनीहरूलाई फर्कन बाध्य पारिरहेको छ र अमेरिकाले गरिरहेको कोरोना भाइरससम्बन्धी अनुसन्धानलाई कमजोर पार्ने प्रयास गरिरहेको उनको आरोप छ ।  

उनले भने, ‘चीनको सबैभन्दा ठूलो लक्ष्य के हो भने कुनै पनि किसिमले ऊ विश्वको सर्वशक्तिमान बन्ने प्रयास गरिरहेको छ ।’

उनका अनुसार चीनबाट भइरहेको यो खतराबारे आगामी हपतामा अमेरिकी महाधिवक्ता र विदेशमन्त्रीले ध्यान दिनेछन् ।  

अमेरिकी अधिकारीको भाषण त्यो समय आएको छ, जतिबेला कोरोना महामारुी र चिनियाँ एप्सका विषयमा अमेरिका र चीनबीच चरम तनाव भइरहेको छ ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चीनकै षड्यन्त्रका कारण विश्वमा कोरोना महामारी फैलिएको सीधा आरोप लगाइरहेका छन् ।  

यसबाहेक यही हप्ता अमेरिकी विदेशमन्त्री माइक पम्पिओले पनि अमेरिकाले चीनमा बनेको एप्समा प्रतिबन्ध लगाउने विचार गरिरहेको छ भनेका छन्, जसमा टिकटक पनि सामेल छ ।  

विदेशमन्त्री पम्पिओले भने, ‘यो एप्स चिनियाँ कम्युनिस्ट पार्टीको निगरानी गर्ने सरकारी माध्यम हो ।’

मंगलबार करिब एक घण्टा लामो भाषणमा एफबिआईका निर्देशकले चीनले कसरी बाधा हालिरहेको छ भन्ने विषयमा विस्तारपूर्वक बताए । 

उनले भने, ‘चीनले आर्थिक जासुसी गरिरहेको छ, तथ्यांक र पैसा चोरिरहेको छ । साथै अवैध राजनीतिक गतिविधिमा संलग्न भइरहेको छ । जसको उद्देश्य हो– अमेरिकी नीतिलाई प्रभावित पार्ने ।’

रेले अगाडि भने, ‘आज हामी यस्तो स्थितिमा छौं, जहाँ एफबिआईमा हरेक १० घण्टामा चीनसँग सम्बन्धित कुनै न कुनै जासुसी मामिला दर्ता गर्नुपरिरहेको छ । अहिले देशभरका यस्ता ५ हजार मामिला दर्ता भएका छन्, जसमा लगभग आधा चीनसँग जोडिएका छन् । ’

उनका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङले एउटा कार्यक्रम सुरु गरेका छन्, जसको नाम हो– फक्स हन्ट । यसद्वारा विदेशमा रहेका चिनियाँ नागरिकलाई निसाना बनाउन खोजिएको छ, जो चीनका लागि खतरा मानिन्छ ।’

यसमा राजनीतिक प्रतिद्वन्द्वी, असन्तुष्ट र आलोचक पर्छन्, जो चीनमा भइरहेको मानवाधिकार उल्लंघन उजागर गर्न चाहन्छन् ।  

एफबिआईका निर्देशक रेले आक्रामक शैलीमा भाषण दिँदै अमेरिकामा रहेका चिनियाँ मूलका मानिसलाई चिनियाँ अधिकारीले स्वदेश फिर्तीका लागि दबाब दिए भने तुरुन्त आफ्नो संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन् ।  

तर चीनले भने आफ्नो बचाउ गर्दै आफ्नो यो कदम भ्रष्टाचार विरोधी प्रयासको एक हिस्सा भएको बताएको छ । बिबिसीबाट

प्रकाशित: २४ असार २०७७ ०९:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App