२ वैशाख २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अण्डमानमा रोहिंग्या शरणार्थी सवार डुंगा पल्टिँदा २५० बेपत्ता

बंगलादेशबाट मलेसियातर्फ जाँदै गरेको एउटा ट्रलर (माछा मार्ने डुंगा) अण्डमान सागरमा दुर्घटना हुँदा बालबालिकासहित करिब २५० जना बेपत्ता भएका छन्। 

संयुक्त राष्ट्रसंघीय शरणार्थी तथा आप्रवासन निकायका अनुसार अत्यधिक यात्रु, तीव्र हावा र समुन्द्रमा आएको छालका कारण उक्त दुर्घटना भएको हो।

बंगलादेश तटरक्षकका प्रवक्ता लेफ्टिनेन्ट कमान्डर सब्बीर आलम सुजनले एजेन्सी फ्रान्स-प्रेसलाई बताएअनुसार अप्रिल ९ मा एउटा जहाजले समुद्रमा तैरिरहेका नौ जनाको उद्धार गरेको थियो। उनले भने, ‘बंगलादेशी झण्डावाहक एमटी मेघना प्राइडले ड्रम र मुढा प्रयोग गरेर समुद्रमा तैरिरहेका धेरै मानिसहरूलाई देखे र अण्डमान टापुहरू नजिकैको गहिरो पानीबाट उनीहरूलाई उद्धार गर्यो।’

म्यानमारको अल्पसंख्यक मुस्लिम समुदाय रोहिंग्याहरू सन् २०१७ को हिंसात्मक सैन्य कारबाहीपछि ठूलो संख्यामा बंगलादेश भागेका थिए। म्यानमारमा नागरिकता नदिइएका र दयनीय शिविरमा बस्न बाध्य यी शरणार्थीहरू सुरक्षित भविष्य र रोजगारीको खोजीमा ज्यान जोखिममा पारेर मलेसिया जस्ता देश जान खोज्छन्।

उद्धार गरिएका मध्ये ४० वर्षीय रफिकुल इस्लामले आफूहरू लगभग ३६ घण्टासम्म समुद्रमा तैरिरहेको बताए। उनले भने, ‘हामीमध्ये धेरैलाई ट्रलरको होल्डिङ क्षेत्रमा राखिएको थियो; केहीको त्यहीं मृत्यु भयो। ट्रलरबाट पोखिएको तेलले मलाई जलाएको थियो।’ उनले मलेसियामा जागिर पाउने प्रलोभनमा परेर आफू उक्त यात्रामा निस्किएको उल्लेख गरे।

संयुक्त राष्ट्रसंघीय निकायहरूले यो घटनालाई विस्थापनको विनाशकारी मानवीय मूल्यका रूपमा चित्रण गरेका छन्। उनीहरूले भनेका छन्, ‘यो त्रासदीले लामो समयसम्म विस्थापनको विनाशकारी मानवीय मूल्य र रोहिंग्याहरूका लागि दिगो समाधानको निरन्तर अभावलाई उजागर गर्दछ।’

अन्तर्राष्ट्रिय समुदायलाई बंगलादेशमा रहेका शरणार्थीहरूको सहयोगका लागि अपिल गर्दै एजेन्सीहरूले थप मानवीय क्षति हुन नदिन ध्यानाकर्षण गराएका छन्। एजेन्सी 

प्रकाशित: २ वैशाख २०८३ ०९:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App