पाकिस्तानमा भारी वर्षापछिका विपद्जन्य घटनामा परेर ज्यान गुमाउनेको संख्या दुई सय २९ पुगेको छ। प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार खैबर पख्तुनख्वा (केपी) प्रान्तमा मुसलधारे वर्षापछि आएको बाढीले दुई सय २९ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।
एआरवाइ न्युजका अनुसार मृतकमा १८४ पुरुष, १४ महिला र १२ बालबालिका छन्। घाइतेमा १७ पुरुष, ३ महिला र एक बालबालिका रहेका छन्।
अधिकारीहरूका अनुसार बुनेरमा ९१, शाङ्लामा ३५, मानसेहरामा २३, बाजौरमा २१, स्वातमा २०, बट्टाग्राममा १५ र तल्लो दिरमा ५ जनाको मृत्यु भएको छ। ६८ घर क्षतिग्रस्त भएका छन्, जसमध्ये २१ आंशिक र ७ पूर्ण रूपमा ध्वस्त छन्। बाढीबाट बाजौर र बट्टाग्राम सबैभन्दा बढी प्रभावित छन्।
यसअघि केपी सरकारको उद्धार हेलिकप्टर दुर्घटनामा चालक दलका ५ जनाको मृत्यु भएको थियो। मुख्यमन्त्री अलि अमिन गण्डापुरले भने, ‘सबै विभाग उद्धारमा संलग्न छन्।’ आजाद कश्मीरको रत्ती गलीबाट ७०० भन्दा बढी पर्यटकको उद्धार गरिएको छ। बाढीले सडक अवरुद्ध हुँदा धेरै पर्यटक अलपत्र छन्। केही स्थानमा बिजुली आपूर्ति बन्द छ।
प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणलाई केपी सरकारसँग समन्वय गरी राहत र उद्धारमा सबै स्रोतसाधन प्रयोग गर्न निर्देशन दिएका छन्।
उनले भने, ‘खाद्यान्न र औषधि ट्रकमार्फत तत्काल प्रभावित क्षेत्रमा पठाउनुपर्छ।’ प्राधिकरणले अगस्ट २१ सम्म भारी वर्षाको सम्भावना रहेको र जोखिममा रहेका जिल्लामा बाढीको अवस्था बिग्रन सक्ने चेतावनी दिएको छ।
प्रकाशित: ३१ श्रावण २०८२ ०७:४७ शनिबार





