२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको न्यूयोर्कमा सामूहिक अन्त्यष्टी

न्युयोर्क –अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या बढेपछि सामूहिक अन्त्यष्टी गरिएको छ। हार्ट आइल्याण्डमा सुरक्षित कपडा लगाएका कर्मचारीहरुले गहिरो खाडलमा चाङ लगाएर शवका कोफिनहरु मिलाइरहेको तस्बिर रोयर्टसले सार्वजनिक गरेको छ।

ड्रोनबाट खिचिएको तस्बिरमा करिब दुई सय पचास शवहरुको सामूहिक अन्त्यष्टी गरिएको देखिन्छ। सामुहिक अन्त्यष्टीमा मृतकका कोहि नजिकका आफन्त तथा साथिभाई सहभागी भएका छैनन्।
कोरोना भाइरसका कारण न्युयोर्कको अवस्था गम्भीर हुँदै गएको छ। यो एउटै शहरमा कोरोना संक्रमित रोगीको संख्या विश्वका अन्य देशहरुको संक्रमितभन्दा धेरै रहेको छ। न्युयोर्कमा मात्र १ लाख साठी हजारभन्दा बडी कोरोना संक्रमित छन् भने आठ हजारभन्दाबढीको मृत्यु भइसकेको छ।

समाचार एजेन्सी एपिका अनुसार –हार्ट आइल्याण्डमा पहिले एक हप्तामा संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ थियो भने अहिले दैनिक २५ जनाको निधन हुने गरेको छ। कोरोना संक्रमित भइ मृत्यु भएकाहरुको हप्ताको एक दिन सामुहिक अन्त्यष्टी गरिन्थो, तर सुधारगृह विभागका प्रवक्ता जेसन कस्र्टनका अनुसार अब यहाँ हप्ताको पाँच दिन शवको अन्त्यष्टी गरिने छ। अहिले दैनिक २५ शव आइरहेको छ। 

यहाँ शवहरु गाढ्ने काम शहरको मुख्य जेल राइकर्स आइल्याण्डका कैदीहरुबाट गराउने गरिन्थ्यो तर अहिले कामको चापका कारण यो काम ठेकेदारहरुलाइ सुम्पीएको छ। 

यहाँ मृतकका आफन्त को–को आए वा मर्नेहरुको आफन्त छन् कि छैनन् साथै मर्ने कति गरिबहरु छन् भन्ने अहिलेसम्म कुनै तथ्याङ्क छैन। तर मुर्दाघरमा शव राख्ने ठाउँको अभावमा आफन्त विहिन तथा लावारिस शवको सुरक्षित राख्ने समय छोट्याइएको छ।

न्युयोर्कका मेयर बिल डे ब्लासियोले यो संकट समाप्त हुनेबेलासम्म शवको अस्थाइ अन्त्यष्टी गर्न जरुरी छ र हार्ट आइल्याण्डमा मृत्यु भएका संक्रमितको सुरक्षित अन्त्यष्टी गरिने छ।

अमेरिकामा पछिल्लो २४ घण्टामा करिब दुइ हजार मानिसको कोरोना संक्रमणबाट निधन भएको छ। अहिलेसम्म कुनैपनि देशमा २४ घण्टामा यतिधेरै संख्यामा मानिसको मृत्यु भएको छैन।

जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्याङ्कका अनुसार यहाँ पछिल्लो २४ घण्टामा २१०८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अमेरिकाभर संक्रमितको संख्या पाँच लाख नाघिसकेको छ।

संकट स्थिर
ह्वाइट हाउसले कोभिड १९ रोकथामका लागि बनाएको टास्क फोर्सका अनुसार महामारी अब स्थिर रहने छ तर डाक्टर डेबोरा बक्र्सका अनुसार अझै संकटको अवस्था आउन सक्ने र त्यसको सामना गर्न तयार हुनुपर्ने बताएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रपले पछिल्लो चरणमा अपनाइएको आक्रमक रणनीतिका कारण धेरै मानिसको ज्यान बचाउन सफल भएको बताएका छन्।

टास्क फोर्सका प्रमुख डाक्टर एंन्थनी फ्रासीले एनबीसी च्यानलमा बताए अनुसार अमेरिकामा यो महामारीबाट मर्नेको संख्या करिब साठी हजार आसपास रहन्छ तर महिना उनले अमेरिकामा कोरोना भाइरसका कारण करिब दुई लाख मानिस मर्नसक्ने बताएका थिए।

प्रकाशित: ३० चैत्र २०७६ ०८:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App