१३ पुस २०८१ शनिबार
image/svg+xml
अर्थ

कर्णाली र लुम्बिनी सरकारले रत्न राजमार्गमा सुरुङमार्गको संयुक्त सम्भाव्यता अध्ययन गर्ने

कर्णाली र लुम्बिनी प्रदेश जोड्ने रत्न राजमार्गका दुई स्थानमा सुरुङमार्ग निर्माणका लागि दुबै प्रदेशले संयुक्त रुपमा सम्भाव्यता अध्ययन गर्ने भएका छन्। दुई प्रदेशका मुख्यमन्त्रीबिच शुक्रबार भएको वार्तापछि जारी गरिएको साझा प्रतिबद्धतामा रत्न राजमार्गको कोहलपुर–बबई र बबई–छिन्चुमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेका हुन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलबिच वीरेन्द्रनगरमा भएको वार्तापछि जारी गरिएको साझा प्रतिवद्धतापत्रमा सुरुङमार्गसँगै जमुनाह–हिल्सा सडक, सुर्खेत तेलपानी–भुरीगाउँ सडक, राप्ती लोकमार्ग र कोहलपुर–सुर्खेत सडक विस्तारमा दुई प्रदेशबिच सहकार्य गर्ने उल्लेख छ।

दुई प्रदेशबिच सिधा हवाई सेवा सञ्चालनका लागि संघीय सरकारसँग अनुरोध गर्ने निर्णय पनि भएको छ। ‘लुम्बिनी प्रदेशको भैरहवाबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हवाई सेवा सञ्चालन गर्न संघीय सरकारसँग अनुरोध गर्ने समझदारी भएको छ,’ कर्णालीका मुख्यमन्त्री कँडेलले भने, ‘यसका साथै लुम्बिनी प्रदेशका विमानस्थलहरूबाट कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा नियमित हवाई उडान गर्नका लागि आवश्यक पहल गर्ने निर्णय पनि भएको छ।’

दुई प्रदेशबिच कोहलपुर–सुर्खेत १३२ केभीए प्रसारण लाइन विस्तारमा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्ने सहमति पनि भएको छ । कर्णाली प्रदेशमा ल्याउन लागिएको १३२ केभीए प्रसारण लाइनका टावर निर्माणमा बाँकेका स्थानीयले अवरोध गरिरहेका छन् । दुई प्रदेशबिच दुबै प्रदेशको बृहत्तर हित गर्ने सहलगानीमा सञ्चालन हुन सक्ने सम्भावित ठूला आयोजना पहिचान गर्ने, राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजना चाँडो सम्पन्न गर्न दुबै प्रदेशकातर्फबाट संघीय सरकारसँग समन्वय गर्ने, प्रदेश कानुन बमोजिम लगाइने करमा दुबै प्रदेशबिच एकरुपता कायम गर्ने र प्राकृतिक स्रोत–साधनबाट संकलन हुने रोयल्टी बाँडफाँडको विषयमा सामञ्जस्यता कायम गर्ने प्रतिबद्धता भएको छ।

छलफलमा दुई प्रदेशबिच रहेको सीमा विवादलाई प्रचलित कानुन र प्रमाणका आधारमा समाधान गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ। लुम्बिनी प्रदेशमा पर्ने बर्दियाको बाँसगढी नगरपालिका–१ बबई क्षेत्र र सुर्खेतको भेरीगंगा नगरपालिका–५ को क्षेत्रमा सीमा विवाद छ। नक्सामा हर्रेदेखिनै बर्दियाको भूभाग देखिन्छ । कर्णाली प्रदेश सरकारले संघीयता कार्यान्वयनको यति लामो समयसम्म पनि नक्सा सच्याउने पहल गरेको छैन । यहीँ क्षेत्रमा भेरी–बबई आयोजनाको निकास क्षेत्र र ४८ मेगावाट विद्युत् उत्पादन हुने विद्युत् गृह पनि बन्ने भएकाले दुई प्रदेशबिच द्वन्द्व हुने अवस्था आउने देखिन्छ।

दुबै प्रदेशले लागूऔषध ओसार–पसार नियन्त्रण र रोकथामका लागि सुरक्षा निकायसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्ने, लुम्बिनीमा आउने धार्मिक पर्यटकहरुलाई कर्णालीमा आउने गरी एकीकृत पर्यटन मार्ग निर्माण गर्ने, दुबै प्रदेशका पर्यटकीय क्षेत्रलाई जोडेर संयुक्त पर्यटन प्याकेज निर्माणका लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गर्ने, दुबै प्रदेशको सिमानामा रहेका नदीनालाहरूमा जलविद्युत उत्पादन, प्रसारण लाइन विस्तार, खानेपानी तथा सिँचाइ संरचना निर्माण गर्दा समन्वय र सहकार्य गर्ने, प्रदेशका सीमा नजिकका सडक, पुल जस्ता पूर्वाधार निर्माण गर्दा सहलनागी तथा समझदारी गर्ने पनि सहमति भएको छ ।

दुई प्रदेशबिच सार्वजनिक सवारीको यात्रु भाडादर संयुक्तरुपमा निर्धारण गर्ने, सडक यातायात दुर्घटना जोखिम न्यूनीकरणका लागि सवारी गति नियन्त्रण र मादक पदार्थ सेवनको जाँच, चालक प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालन गर्ने, कर्णालीको फलफूल, जडीबुटी, अर्ग्यानिक तरकारी र अन्य उत्पादनलाई लुम्बिनी प्रदेशका मुख्य बजार केन्द्रसम्मको पहुँचमा पु¥याउने र लुम्बिनीको खाद्यान्नलगायतका कृषि उत्पादनलाई कर्णालीका बजारसम्म पहुँच पु¥याउन पूर्वाधार तयार गर्ने पनि सहमति भएको छ ।

कर्णालीका मुख्यमन्त्री कँडेलले कर्णालीको प्रवेशद्वार नै लुम्बिनी भएकाले दुई प्रदेशबिच सहकार्य, समन्वय र साझा धारणा आवश्यक रहेको बताए । ‘दक्षिणको छिमेकीसम्म कर्णालीको सीधा पहुँच छैन, कर्णालीको प्रवेशद्वार नै लुम्बिनी हो,’ उनले भने, ‘त्यसैले दुई प्रदेश जोड्ने सडक मार्गलाई उच्च प्राथमिकता दिने निर्णयमा हामी पुगेका छौँ ।’

लुम्बिनीका मुख्यमन्त्री आचार्यले दुई प्रदेशबिच भएको १९ बुँदे सहमतिलाई आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा समेट्ने बताए । उनले राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट दुई प्रदेशले पाउने रोयल्टी संघीय सरकारले निर्धारण गर्ने बताए ।

प्रकाशित: १२ पुस २०८१ १७:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App