१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा आंशिक युद्धविराम

काबुल – अफगानिस्तानमा एक हप्ते आंशिक युद्धविराम शनिबार सुरु भएको छ।
अफगानिस्तानको मुख्य विद्रोही समूह तालिवान, अमेरिका र अफगान सरकारबीच हिंसा न्यूनीकरण गर्न एक हप्ते सम्झौता भएको हो।

आंशिक युद्धविराम सम्झौता भएसँगै वर्षौंदेखि गृहयुद्धबाट थिलथिलो भएको अफगानीमा खुसीयाली छाएको छ। उनीहरूले शान्ति आउने आशामा बिहान सडकमा नाचगान गरेका छन्। सम्झौताको पूर्ण पालना भएमा सन् २००१ देखि जारी सशस्त्र हिंसा अन्त्यका लागि एउटा प्रस्थान विन्दु हुनेछ। अमेरिका र विद्रोही तालिवान आंशिक युद्धविरामको नतिजाका आधारमा स्थायी युद्धविराम गर्न सहमत भएका छन्। उक्त सम्झौताबमोजिम अमेरिकाले १८ वर्षपछि अफगानिस्तानमा तैनाथ करिब १४ हजार अमेरिकी सैनिक क्रमशः फिर्ता लैजाने छ। यससँगै अफगानिस्तानमा विकास र प्रगतिको ढोका खुल्ने अपेक्षा गरिएको छ।

काबुल सडकमा शनिबार बिहानै भेटिएका ट्याक्सी चालक हबीब उल्लाहले भने, ‘बम वा आत्मघातीको आक्रमणबाट मृत्यु हुने भयबिना पहिलोपटक सडकमा निस्कन पाएको छु। आशा छ– यो सदा जारी रहने छ ।’ यो साप्ताहिक युद्धविराम सफलतापूर्वक अघि बढाउन तालिवान समूहले आफ्ना लडाकुलाई नियन्त्रणमा राख्न सक्नुपर्छ। अमेरिका र विद्रोही दुवैले आगामी फेब्रुअरी २९ मा दोहामा पूर्ण सम्झौतामा हस्ताक्षर गर्ने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटक–पटक अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने बताउँदै आएका छन्। तर, अमेरिकी सेना र अमेरिकी चासोका स्थानमा बम हमला भएपछि ट्रम्पकै आदेशमा अमेरिका–तालिवानमा जारी शान्तिवार्ता केही समय रोकिएको थियो। तर, दुवै पक्षबीच पुनः शान्तिवार्ता भएर अस्थायी एक हप्ते युद्धविराम भएको छ। लामो समयदेखि रक्तपातपूर्ण युद्धको सामना गरिरहेका सर्वसाधारण अफगानीले पछिल्लो सहमतिले ठूलो राहत दिएको छ।

संयुक्त राष्ट्रसंघले गत वर्ष पछिल्लो एक दशकमा अफगानिस्तानमा लाखभन्दा बढी मानिस मारिए वा घाइते भएको जनाएको थियो । तालिवानको मुख्य आधारभूमि मानिएको दक्षिणी कन्धाहार र पूर्वी जलालावादमा अफगानी रातिदेखि नै सडकमा परम्परागत प्रस्तुत नाचमा रमाइरहेका देखिन्थे। वर्षौंदेखि सर्वसाधारणका लागि घातक ठाउँहरूमध्ये एकको रूपमा देखिएको काबुलमा भने मानिस केही सजग देखिएका थिए। ‘अस्थायी नै भए पनि युद्धमा रोकिनु राम्रो हो। तर, हामी स्थायी युद्धविराम होस् भन्ने चाहन्छौं,’ सरकारी कामदार फजुल रहमानले भने, ‘जतिसक्दो चाँडो विद्रोही तालिवान र अफगान सरकारबीच पनि शान्ति वार्ता हुनुपर्छ ।’

काबुलका एक जना पसले इमामुद्दीनले जेजस्तो अवस्थामा पनि सबै अफगानीले शान्तिको चाहना राखेको बताए। ‘एक हप्ताको युद्धविराम त आँखा झिमिक्क पार्दै सकिन्छ,’ उनले भने, ‘उनीहरूले यस देशको समस्याको लागि दिगो समाधान खोज्नुपर्छ ।’ सन् २००१ मा अमेरिकी आक्रमणपछि अफगानिस्तानमा एक पटक मात्र युद्धविराम भएको छ। तालिवान र काबुलबीच सन् २०१८ मा मुस्लिमको महान चाड ईदको अवसरमा तीन दिन युद्धविराम भएको थियो। त्यसबखत अफगानिस्तानले तालिवानी लडाकूहरू, सुरक्षाफौज र सर्वसाधारणलाई अँगालो हालेर, आइसक्रिम बाँडेर र सेल्फी खिँच्दै खुसी साटासाट गरेका थिए। अमेरिकाले एक वर्षभन्दा बढी समयदेखि तालिवानसँग वार्ता गरिरहेको छ। उक्त वार्ता मुख्यरूपमा अफगानिस्तानमा तैनाथ १२ हजारदेखि १४ हजारसम्म अमेरिकी सेनाको आधा हिस्सा तत्कालै हटाउने र स्थायी युद्धविराम गर्नेमा केन्द्रित छ। त्यसको बदलामा तालिवानले सुरक्षा प्रत्याभूति गर्नुपर्नेछ र अफगान सरकारसँग शान्ति वार्तामा सहभागी हुनेछ।

बिहीबार उक्त समूहका उपनेता सिराजुद्दीन हक्कानीले न्यूयोर्क टाइम्समा एउटा लेख लेख्दै विद्रोहीहरू सम्झौताको पक्षमा खडा हुन पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।

प्रकाशित: ११ फाल्गुन २०७६ ०२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App