७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

किमलाई ट्रम्पको ‘जन्मदिन शुभकामना’

भियतनामको हनोईमा गत फेब्रुरअरीमा भेट गर्दै उत्तर कोरियाली नेता किम जोङ–उन (बायाँ) र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। फाइल तस्बिर : एजेन्सी

सोल, (बिबिसी)– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनलाई ‘जन्मदिनको शुभकामना’ सन्देश पठाएका छन्।

संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच दुई चरणसम्म शिखर बैठक भएको भएको भए पनि हाल दुई देशबीचको औपचारिक वार्ता लगभग ठप्प रहेकै बेला अमेरिकी राष्ट्रपति ट्रम्पले पठाएको शुभकामना सन्देशलाई महŒवका साथ हेरिएको छ।

यद्यपि दुई देशबीच आणविक वार्ता सुचारु गर्न अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किमबीचको व्यक्तिगत सम्बन्धले मात्रै काम नगर्ने जानकारहरु बताउँछन्।

‘नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्पलाई व्यक्तिगत रूपमा मन पराउन सक्नुहुन्छ तर भावनाका आधारमा मात्र उहाँले देशको नेतृत्व गर्नुहुन्न,’ उत्तर कोरियाली विदेश मन्त्रालयका सल्लाहकार किम केई ग्वानलाई उद्धत गर्दैै बिबिसीले उल्लेख गरेको छ।

अमेरिका र उत्तर कोरियाबीच यसअघिका निःशस्त्रीकरणसम्बन्धी वार्तामा पनि संलग्न रहेका कूटनीतिज्ञ केईलाई उद्धृत गर्दै राज्य सञ्चालित समाचार एजेन्सी केसिएनएले जनाएअनुसार आफूमाथि लागेका प्रतिबन्ध आंशिक रूपमा हटाइए पनि प्योङयाङले आणविक कार्यक्रम रोक्ने छैन।

उत्तर कोरियाले पेश गरेका माग अमेरिकाले स्वीकार नगरेसम्म दुई देशबीच वार्ताको सम्भावना नरहेको पनि उनले जिकिर गरेका छन्। पछिल्ला केही महिनादेखि दुई देशबीचको सम्बन्ध खराब बन्दै गइरहेकै बेला यस वर्षको सुरुकै दिन उत्तर कोरियाली नेता किमले पुनः आणविक कार्यक्रम सुचारु गर्ने बताइसकेका छन्।

इतिहासमै पहिलो पटक बहालवाला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच सन् २०१८ जुन १२ का दिन सिंगापुरमा पहिलो शिखर बैठक भएको थियो। सौ बैठक अति नै सौहार्दपूर्ण रहेको थियो। सो बैठकमा आफ्नो देशेको सुरक्षा प्रत्याभूति भए कोरियाली प्रायःद्वीपलाई आणविक निःशस्त्रीकरण गर्न आफू तयार रहेको नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्पसमक्ष बताएका थिए।
प्रतिउत्तरमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको सुरक्षा प्रत्याभूति हुने वचन दिएका थिए। सोही सहमतिबमोजिम आफ्नो प्रमुख आणविक परीक्षणस्थल ध्वस्त गरेको प्योङयाङले बताएको थियो।

अमेरिकी राष्ट्रपति ट्रम्प र नेता किमबीच दोस्रो शिखर वार्ता भियतनामको राजधानी हनोईमा सन् २०१९ को फेब्रुअरी २७ र २८ का दिन भएको थियो। सो बैठकमा उत्तर कोरियाले आफूले सिंगापुर बैठकको मर्मबमोजिम आणविक परीक्षणस्थल ध्वस्त गरेको र कोरियाली प्रायःद्वीपलाई आणविक निःशस्त्रीकरण गर्नका लागि काम सुरु गरेकाले अमेरिकालगायतले आफूमाथि लगाउँदै आएको प्रतिबन्ध हट्नुपर्ने माग अघि सारेको थियो। प्रतिउत्तरमा अमेरिकाले प्योङयाङले पूर्णरूपमा आणविक कार्यक्रम नत्यागेसम्म प्रतिबन्ध यथावत रहने बताएपछि दुई देशबीचको शिखर बैठक बिनानिष्कर्ष टुंगिएको थियो।

त्यसपछि अमेरिकी राष्ट्रपति ट्रम्पको दक्षिण कोरिया भ्रमणका बेला उत्तर र दक्षिण कोरियाबीचको गैरसैनिक क्षेत्रमा ट्रम्प र नेता किमबीच छोटो समय भेट भएको भए पनि त्यसपछि भने दुई देशका अधिकारीबीच प्रत्यक्ष वार्ता हुन सकेको छैन।

उत्तर कोरियाले आफ्ना माग पूरा गर्न वासिङ्टनलाई सन् २०१९ को अन्तिमसम्मको समय दिएको थियो। सो समयसम्म पनि अमेरिकाले आफ्नो माग पूरा नगरे आफू पुनः आणविक कार्यक्रमा फर्कने यसअघिको चेतावनीलाई अघि बढाउँदै सन् २०२० को सुरुकै दिन उसले आणविक कार्यक्रम अघि बढाउने घोषणा गरिसकेको छ।

प्रकाशित: २७ पुस २०७६ ०४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App