८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

महाभियोग सुनुवाइमा ट्रम्प सहभागी नहुने

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका वकिलहरुले बुधबार संसद्को तल्लो सदनमा हुने सुनुवाइमा भाग नलिने राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ। संसद्को न्यायपालिकासम्बन्धी समितिलाई लेखेको पत्रमा कानुनी सल्लाहकार प्याट सिपोलोनीले निष्पक्षताको अपेक्षा राखेका राष्ट्रपतिले त्यसमा भाग लिन नसक्ने बताएका हुन्। अघिल्लो साता न्यायपालिकासम्बन्धी समितिका अध्यक्ष जेरोल्ड नाड्लरले राष्ट्रपति ट्रम्पले सुनुवाइमा भाग लिनु पर्ने या गुनासो गर्न बन्द गर्नुपर्ने बताएका थिए।

ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पले दोस्रो पटकको सुनुवाइमा भाग लिने वा नलिने विषयमा भने केही नुखुलाएको बिबिसीले उल्लेख गरेको छ। हालसम्म मिति तय नभइसकेको उक्त सुनुवाइबारे अलग्गै प्रतिक्रिया जनाउने ह्वाइट हाउसले जनाएको छ।

‘पोलिटिको’ले छापेको ट्रम्पका कानुनी सल्लाहकार प्याट सिपोलोनीको पत्रमा संसद्को समितिले अनुसन्धानका क्रममा पूर्ण रूपमा नियमित प्रकियालाई पालना नगरेको र आधारभूत रूपमा निष्पक्षता सुनिश्चित नगरेको उल्लेख गरिएको छ।
राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सुनुवाइको तयारी गर्न पर्याप्त समय नदिइएको र प्रत्यक्षदर्शीबारे पनि जानकारी नदिइएको समेत सो पत्रमार्फत आरोपसमेत लगाएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो व्यक्तिगत राजनीतिक फाइदाका लागि दुईवटा अनुसन्धान सञ्चालन गर्न युक्रेनमाथि दबाब दिएको आरोपमा महाभियोगसम्बन्धी जाँचबुझका लागि सुनुवाइ भइरहेको छ। ट्रम्पले भने आफूले केही  गल्ती नगरेको र आफूविरुद्ध प्रतिशोध साँधिएको दाबी गर्दै आएका छन्।

बुधबार महाभियोगसम्बन्धी सुनुवाइ दोस्रो चरणमा प्रवेश गर्नेछ। सुनुवाइ राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भोल्दिमिर जेलेन्स्कीबीच जुन महिनामा भएको टेलिफोन कुराकानीबारे केन्द्रित हुने बताइएको छ। सो फोन कुराकानीमा ट्रम्पले जेलेन्स्कीलाई आसन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्र्याटका अग्रपंक्तिका उम्मेदवार जो बाइडन र विगतमा युक्रेनको एउटा ऊर्जा कम्पनीमा काम गरेका उनका छोरा हन्टरविरूद्ध अनुसन्धान गर्न आग्रह गरेका थिए।

अघिल्लो साता संसद्को गुप्तचरी हेर्ने समितिले प्रत्यक्षदर्शीसँगको गोप्य बयान र दुई सातादेखि भइरहेका विभिन्न सार्वजनिक सुनुवाइलाई टुंगोमा पु¥याएको थियो। ती बयान र सार्वजनिक सुनुवाइहरुबारेको प्रतिवेदन मंगलबार सार्वजनिक गरिएलगत्तै ट्रम्पविरुद्धको महाभियोग अनुसन्धानबारेको दोस्रो चरणको सुनुवाइ सुरु हुने बताइएको छ।

न्यायपालिकासम्बन्धी समितिले राष्ट्रपतिले गरेका गलत कामहरु समेटिएको महाभियोगसम्बन्धी दफाहरू डिसेम्बरको सुरुबाट मस्यौदा गर्न थाल्ने अनुमान पनि गरिएको छ। सुरुमा डेमाक्र्याटहरुको कब्जामा रहेको तल्लो सदनमा मतदान गरेपछि यसबारेको प्रस्ताव रिपब्लिकनहरुको नियन्त्रण रहेको माथिल्लो सदन ‘सिनेट’मा पेश हुनेछ।

सिनेटमा विद्यमान सदस्यको दुइ तिहाइ बहुमतबाट दोषी ठहर भए महाभियोग प्रक्रियामार्फत पदबाट हट्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुनेछन्। यद्यपि अमेरिकाको माथिल्लो सदन ‘सिनेट’ मा रिपब्लिकनहरुको बहुमत रहेका कारण त्यस्तो परिणामको सम्भावना एकदमै न्यून रहेको जानकारहरु बताउँछन्।

क्याप्सन ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोल्दिमिर जेलेन्स्कीलाई आसन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्र्याटका अग्रपंक्तिका उम्मेदवार जो बाइडन र विगतमा युक्रेनको एउटा ऊर्जा कम्पनीमा काम गरेका उनका छोरा हन्टरविरूद्ध अनुसन्धान गर्न दबाब दिएको आरोप छ।

प्रकाशित: १७ मंसिर २०७६ ०२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App