७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

आतङ्कवादसम्बन्धी मुद्दामा जेल परेका व्यक्ति ‘लन्डन ब्रिज’ आक्रमणकारी

आक्रमणस्थल ‘लन्डन ब्रिज’ मा सुरक्षा प्रदान गर्दै लन्डन प्रहरी। प्रहरी कारबाहीमा मारिएका अभियुक्त उस्मान खान (इन्सेटमा)। तस्बिर ः एजेन्सी

लन्डन – बेलायतको राजधानी लन्डनको केन्द्र भाग पर्ने ‘लन्डन ब्रिज’मा शुक्रबार चक्कु प्रहार गर्ने व्यक्ति आतंवादसँग सम्बन्धित अपराधमा दोषी प्रमाणित भएर कारागार बसेको पुष्टि भएको छ। शुक्रबारको घटनामा एक पुरुष र एक महिला गरी दुई जनाको मृत्यु भएको थियो भने अन्य तीन जना घाइते भएका थिए। प्रहरीले गोली प्रहार गर्दा चक्कु प्रहार गर्ने ती सन्दिग्ध व्यक्तिको पनि मृत्यु भएको थियो।

प्रहरीले २८ वर्षीय ती आक्रमणकारीको नाम उस्मान खान भएको र उनी गत वर्ष कारागारबाट सशर्त बाहिर आएको बताएको छ। ‘लन्डन ब्रिज’मा शुक्रबार चक्कु प्रहार भइरहेको देखेपछि सर्वसाधारणले उनलाई नियन्त्रणमा लिएका थिए। पछि प्रहरीले गोली चलाउँदा उनको मृत्यु भएको थियो। शुक्रबार लन्डन ब्रिजमा भएको चक्कु आक्रमणलाई प्रहरीले ‘आतंवादी घटना’ को संज्ञा दिएको छ। प्रहरीका अनुसार खान सन् २०१२ मा आतंवादसम्बन्धी मुद्दामा दोषी ठहर भएका थिए।

चक्कु आक्रमणकारीलाई रोक्न खोज्ने सर्वसाधारणको बेलायतभर प्रशंसा भएको छ। प्रशंसा गर्नेमध्येमा प्रधानमन्त्री बोरिस जोनसन र विपक्षी नेता जेरेमी कोर्बिनसम्म रहेका छन्।

लन्डन महानगरीय प्रहरीका आयुक्त निल बसुले प्रकाशित गरेको विज्ञप्तिमा खान गत वर्ष डिसेम्बरमा कारागारबाट शर्तसहित बाहिर निस्किएको उल्लेख गरिएको छ। साथै, सो विज्ञप्तिमा अहिले उनले किन यस्तो आक्रमण गरे भन्नेबारे छानबिन गरिने उल्लेख छ। ‘द टाइम्स पत्रिका’का अनुसार सधैं एउटा विद्युतीय उपकरण लाउने र आफ्ना गतिविधि निगरानीमा राख्ने सहमत भएपछि उनी गत वर्ष जेलमुक्त भएका थिए।

खानको स्याफोर्डसरस्थित निवासमा पनि प्रहरीले खानतलासी गरेको बिबिसीले उल्लेख गरेको छ। प्रहरीले अहिले अनुसन्धान प्रारम्भिक चरणमा भएको र उक्त आक्रमणमा अन्य व्यक्तिको संलग्नता थियो वा थिएन भनेर खोजी भइरहेको जनाएको छ।

स्थानीय समयअनुसार चक्कु आक्रमण शुक्रबार दिउँसो १ बजेर ५८ मिनेटमा ‘लन्डन ब्रिज’को उत्तरी भागमा भएको थियो। नजिकै एउटा भवनमा क्याम्ब्रिज विश्वविद्यालयले कैदीहरुको पुनर्वासको विषयमा एउटा कार्यक्रम आयोजना गरिरहेको थियो। ती सन्दिग्ध व्यक्ति पनि उक्त कार्यक्रममा सहभागी थिए। प्रहरी आयुक्त बसुका अनुसार कार्यक्रम भइरहेको भवनमा नै निजले आक्रमण गर्न थालेको थिए। ‘लन्डन ब्रिज’मा पुगेपछि उनलाई अरूले रोक्न खोजे र पछि प्रहरीले प्रहार गरेको गोली लागेर उनको मृत्यु भयो।

आक्रमणमा मारिने को हुन् ?

प्रहरीले शुक्रबार ‘लन्डन ब्रिज’ मा भएको चक्कु आक्रमणमा एक पुरुष र एक महिलाको मृत्यु भएको पुष्टि गरेको छ। घाइते हुने तीन जनामा एक पुरुष र दुई महिला छन्। उनीहरुलाई अस्पताल लगिएको र हाल उपचारमा रहेको प्रहरी स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। शनिबार यो समाचार तयार पार्दासम्म ‘लन्डन ब्रिज’ आक्रमण पीडितको परिचय खुलाइएको छैन।

घाइतेमध्ये एक जनाको स्थिति गम्भीर तर स्थिर रहेको स्वास्थ्य सेवा ‘एनएचएस’का प्रमुखले शुक्रबार बताएका थिए। अन्य दुई जनामध्ये एक जना स्थिर अवस्थामा रहेको र अर्का व्यक्तिलाई सामान्य चोछ लागेको बताइएको छ।

‘चौतर्फी प्रशंसा’
चक्कु आक्रमणकारीलाई रोक्न खोज्ने सर्वसाधारणको बेलायतभर प्रशंसा भएको छ। प्रशंसा गर्नेमध्येमा प्रधानमन्त्री बोरिस जोनसन र विपक्षी नेता जेरेमी कोर्बिनसम्म रहेका छन्। उनीहरुले सर्वसाधारण नागरिकले ‘उल्लेखीय साहस’ प्रस्तुत गरेको भन्दै उनीहरुको तारिफ गरेका छन्।

प्रकाशित: १५ मंसिर २०७६ ०४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App