१५ चैत्र २०८० बिहीबार
अन्तर्राष्ट्रिय

जापानलाई ‘वास्तविक ब्यालेस्टिक क्षेप्यास्त्र’ देखाइदिने उत्तर कोरियाको चेतावनी

उत्तर कोरियाले बिहीबार प्रक्षेपण गरेको भनिएको ‘सुपर लार्ज मल्टिपल रकेट लन्चर’। तस्बिर ः एजेन्सी

सोल – जापानलाई चाँडै नै वास्तविक ब्यालेस्टिक क्षेप्यास्त्र देखाइदिने भन्दै उत्तर कोरियाले चेतावनी दिएको छ।जापानी प्रधानमन्त्री सिन्जो आबेलाई ‘मन्दबुद्धि’ र ‘राजनीतिक कद नभएका नेता’ को संज्ञा दिँदै उनले आफ्नो अस्त्र परीक्षणलाई गलत रूपमा प्रस्तुत गरेको आरोप पनि उत्तर कोरियाले लगाएको छ।

उत्तर कोरियाले बिहीबार ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो। सो परीक्षणपछि जापानी प्रधानमन्त्री आबेले प्योङयाङले बारम्बार ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको भन्दै निन्दा गरेका थिए। बिहीबार गरिएको परीक्षण एकैचोटि एउटाभन्दा बढी रकेट प्रहार गर्न सक्ने ‘सुपर लार्ज मल्टिपल रकेट लन्चर’ भएको उत्तर कोरियाले दाबी गरेको थियो। सो दाबीलाई लिएर जापानी प्रधानमन्त्री आबेले आलोचनासमेत गरेपछि उत्तर कोरिया आक्रोशित बनेको छ। उसले आफ्नो सरकारी सञ्चारमाध्यममार्फत जापानले ‘निकट भविष्यमै वास्तविक ब्यालेस्टिक क्षेप्यास्त्र देख्न पाउने’ भन्दै शनिबार धम्कीपूर्ण टिप्पणी गरेको छ।

‘जापानी प्रधानमन्त्री आबे क्षेप्यास्त्र र एकभन्दा बढी रकेट प्रहार गर्न सक्ने क्षमताको अस्त्र छुट्याउन नसक्ने विश्वकै सबैभन्दा मूर्ख नेता’ भएको उत्तर कोरियाले आरोप लगाएको छ।

संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्ले उत्तर कोरियालाई ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएको छ। यसका साथै उत्तर कोरियाले क्षेप्यास्त्र र परमाणु कार्यक्रमसम्बन्धी अनेकौं प्रतिबन्धहरुको पनि सामना गरिरहेको छ। जापानको एउटा प्रमुख साझेदार संयुक्त राज्य अमेरिकासँगको उच्चस्तरीय वार्तामा आफूमाथिका प्रतिबन्ध हटाउनुपर्ने विषयलाई उत्तर कोरियाले एउटा प्रमुख मुद्दा बनाउँदै आएको छ। गत फेब्रुअरी महिनाको २७ र २८ तारिखमा भियतनामको राजधानी हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीचको दोस्रो शिखर बैठक विफल भएको थियो। त्यसपछि दुई देशबीच प्रत्यक्ष वार्ता हुन सकिरहेको छैन भने उत्तर कोरियाले वार्ताका लागि अमेरिकालाई यो वर्षको अन्त्यसम्मको समयसीमा दिएको छ।

बहालवाला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच पहिलो शिखर बैठक सन् २०१७ को जुन १२ का दिन सिंगापुरमा भएको थियो। दुई परम्परागत शत्रु राष्ट्र प्रमुख तहमा भएको पहिलो ऐतिहासिक शिखर बैठक सौहार्दपूर्ण रूपमा समापन भएको थियो। त्यसबेला नेता किमले आफ्नो देशको सुरक्षा प्रत्याभूति भए कोरियाली प्रायद्वीपलाई आणविक निःशस्त्रीकरण गर्नका लागि आफ्ना आणविक कार्यक्रम त्याग्नसक्ने विषयमा सहमति व्यक्त गरेका थिए। प्रतिउत्तरमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेता किमको प्रस्तावमा स्वकारोक्ति जनाएका थिए। पछि, उत्तर कोरियाले सिंगापुर शिखर बैठकको सहमतिबमोजिम भन्दै केही आणविक परीक्षणस्थल ध्वस्त गरेको तस्बिर पनि सार्वजनिक गरेको थियो। यद्यपि हनोई बैठकमा पुग्दा भने उसले आफूमाथिको प्रतिबन्ध हट्नुपर्ने विषयलाई प्रमुख मुद्दा बनायो, जसमा अमेरिकाले समर्थन गरेन र बैठक बिनानिष्कर्ष टुंगियो। त्यसपछि दुई देशको प्रत्यक्ष वार्ता हुुन सकिरहेको छैन र उत्तर कोरियाले पटकपटक साना क्षेप्यास्त्रको परीक्षण गर्दै आइरहेको अवस्थामा बिहीबारको परीक्षण पछिल्लो उदाहरण हो।

दक्षिण कोरियामा रहेका पर्यवेक्षकहरुका अनुसार उत्तर कोरियाले दक्षिण हाम्ग्योङ प्रान्तबाट बिहीबार ‘सी अफ जापान’तर्फ दुई अज्ञात अस्त्र प्रहार गरेको थियो। त्यसलगत्तै जापानी प्रधानमन्त्री आबेले उत्तर कोरियाले निरन्तर ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरिरहेको भन्दै प्योङयाङको त्यस्तो कार्य आफ्नो दशका लागि मात्रै नभई अन्तर्राष्ट्रिय समुदायका लागि पनि गम्भीर चुनौती भएको टिप्पणी गरेका थिए। उत्तर कोरियाले भने आफ्ना नेता किमले ती अस्त्र प्रक्षेपणको निरीक्षण गरिरहेको तस्बिर सार्वजनिक गरेको थियो।

उत्तर कोरियाली समाचार एजेन्सी केसिएनएले शनिबार ‘आबे क्षेप्यास्त्र र एकभन्दा बढी रकेट प्रहार गर्न सक्ने क्षमताको अस्त्र छुट्याउन नसक्ने विश्वकै सबैभन्दा मूर्ख नेता’ भएको उल्लेख गरेको छ। उसले निकट भविष्यमै आबेले आफ्नै अगाडि ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको देख्ने चेतावनी पनि दिएको छ।

के हुँदैछ ट्रम्प–किम वार्ता ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच दुई कोरियाको सीमा छुट्याउने गैरसैनिक क्षेत्रमा गत जुन महिनामा छोटो भेटवार्ता भएको थियो। सो भेटवार्ता औपचारिक नभए पनि दुई नेताबीच पुनः आफ्ना निकायहरुमार्फत रोकिएको संवाद अघि बढाउने सहमति भएको थियो।

सोही सहमतिबमोजिम गत अक्टोबर महिनामा दुई देशका औपचारिक निकायबीच कुराकानी सुरु भए पनि खासै प्रगति हुन भने सकेको छैन। त्यसका साथै उत्तर कोरियाले अमेरिकालाई यस वर्षको अन्त्यसम्ममा आफ्नो व्यवहार परिवर्तन गर्नुपर्ने माग पनि राखेको छ। गत फेब्रुअरीमा भियतनामा भएको शीर्ष वार्ता भंग भएपछि उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीचको संवादमा खासै प्रगति भएको छैन।

राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत् किमसँग अर्को वार्ता गर्ने इच्छा प्रकट गरेको भए पनि उत्तर कोरियाले त्यसप्रति खासै रुचि देखाएको छैन। उत्तर कोरियाको छिमेकी जापानी प्रधानमन्त्री सिन्जो आबेले पनि गत जुन महिनामा आफू कुनै शर्तबिनै किमसँग कुरा गर्न तयार रहेको बताएका थिए। त्यसले परमाणुसम्बन्धी विषयमा र लामो समयदेखि त्यसै अवरुद्ध भएको जापानी नागरिकको अपहरणको विषयमा ताजा संवाद हुने आशा जगाएको थियो।

दशकौँअघि आफ्ना गुप्तचरहरुलाई प्रशिक्षण उपलब्ध गराउन उत्तर कोरियाले जापानी नागरिकलाई बन्धक बनाएको थियो। उत्तर कोरियाले आफ्ना १७ जना नागरिकलाई बन्धक बनाएको दाबी जापानको छ। तीमध्ये पाँच जना मात्रै स्वदेश फर्किएको उसको भनाइ छ। नेता किमसँग प्रत्यक्ष वार्ता गर्ने जापानी प्रधानमन्त्री आबेको प्रस्तावमा  पनि प्योङयाङले खासै सकारात्मक प्रतिक्रिया दिएको छैन। बरु यसअघि अस्त्र परीक्षणको निन्दा गरेपछि उसले आबेलाई आफ्नो भूमिमा टेक्न नदिने घोषणा गरेको थियो।

प्रकाशित: १५ मंसिर २०७६ ०४:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App