३० वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इबोला प्रतिरोधी दोस्रो खोपको प्रयोग

गोमा, (एजेन्सी) – अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा बिहीबार प्राणघातक इबोला सङ्क्रमणविरुद्ध लड्न नयाँ खोप प्रयोगमा ल्याइएको छ।

विगत १५ महिनादेखि फैलिएको इबोलाका कारण मुलुकको पूर्वी क्षेत्रमा त्रासको वातावरण छ। परोपकारी संस्था सीमाविहीन चिकित्सक (डक्टर्स ह्विदाउट बोर्डर्स) का अनुसार आगामी चार महिनाभित्र करिब ५० हजार मानिसलाई यो खोप दिइने छ। यो खोप विश्वप्रसिद्ध औषधि उत्पादक तथा अनुसन्धाता जोन्सन एन्ड जोन्सनको बेल्जियमस्थित एक सहायक कम्पनीले तयार पारेको हो। गत वर्ष नै सुरु भएको खोप अभियानका क्रममा दुई लाख ५० हजारभन्दा बढीलाई खोप दिइएको छ र त्यसमा सबैजसो स्वास्थ्यकर्मीलाई समेटिएको छ।

कंगोको उत्तरी किभु प्रान्तमा अगस्ट २०१८ मा इबोलाको संक्रमण पहिलोपटक देखिएको थियो। त्यसपछि यो रोग छिमेकी प्रान्त इटुरी र दक्षिण किभुमा फैलिएको थियो। राज्यको उपस्थिति नै कम रहेका यी क्षेत्रहरू युगान्डा, रुवान्डा र बुरुन्डीसँग सीमा जोडिएका छन्। पछिल्लो विवरणअनुसार यस रोगबाट हालसम्म कंगोमा मात्र दुई हजार एक सय ९३ जनाको ज्यान गइसकेको छ।

कंगोमा इबोला फैलिएको यो दशौं पटक हो। पश्चिम अफ्रिकामा सन् २०१४–०१६ को अवधिमा फैलिएको यो संक्रमणबाट कंगोमा त्यसबखत ११ हजार तीन सयको मृत्यु भएको थियो।

परोपकारी संस्था एमएसएफका अनुसार गोमा प्रान्तको राजधानी उत्तरी किभुमा बिहीबार बिहान १५ जनालाई नयाँ खोप दिएर खोप कार्यक्रम सुरुपात गरिएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार इबोला संक्रमितको मृत्यु हुने सम्भावना ९० प्रतिशतसम्म रहेको छ।

प्रकाशित: २९ कार्तिक २०७६ ०१:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App