१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

हिंसा गर्नेलाई छुट नदिने हङकङ प्रमुखको चेतावनी

क्यारी लाम

हङकङ (एजेन्सी) – सहरमा हिंसा बढिरहेको भन्दै यसमा संलग्न कसैलाई पनि छुट नदिने हङकङकी प्रमुख कार्यकारी क्यारी लामले मंगलबार चेतावनी दिएकी छन्।

हङकङ प्रहरीले ‘अति खतरनाक’ एउटा सानो बम विस्फोट भएको जानकारी दिएको उल्लेख गर्दै प्रमुख कार्यकारी लामले हिंसा फैलाउनका लागि परेका कसैलाई पनि कुनै प्रकारको छुट नहुने बताएकी हुन्।

‘मैले धैरै पटक भनेकी छु कि हिंसाले हामीलाई समाधान दिँदैन। हिंसाले त केबल हिंसा जन्माउछ,’ प्रमुख कार्यकारी लामले मंगलबार एक पत्रकार सम्मेलनमा बताइन्।

मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारे सरकारले विधेयक ल्याएपछि सुरु भएको प्रदर्शनका कारण विगत चार महिनादेखि हङकङमा सरकारविरोधी प्रदर्शन जारी रहेको छ।

हङकङको प्रमुख नेतृत्वले प्रदर्शनकारीका मागमध्येको एउटा प्रमुख माग ‘मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्ने’ सम्बन्धी विधेयक फिर्ता लिए पनि प्रदर्शनकारीले १९ सातादेखि निरन्तर प्रदर्शन गरिरहेका छन्।

हङकङकी प्रमुख कार्यकारी क्यारी लामले केही साताअघि विवादास्पद सुपुर्दगी विधेयक फिर्ता लिने घोषणा गरेकी थिइन्।

हङकङ प्रहरीले ‘अति खतरनाक’ एउटा सानो बम विस्फोट भएको जानकारी दिएको उल्लेख गर्दै प्रमुख कार्यकारी क्यारी लामले हिंसा फैलाउनका लागि परेका कसैलाई पनि कुनै प्रकारको छुट नहुने बताएकी हुन्।

सुरुमा सुपुर्दगी विधेयक फिर्ता लिनका लागि दबाब दिने उद्देश्यले प्रदर्शन आयोजना गरिएको भए पनि हाल आएर हङकङ प्रदर्शन बृहद् प्रजातान्त्रिक सुधार र स्वतन्त्रता कम हुँदै गएको प्रति लक्षित भएको छ। यति मात्रै नभई प्रदर्शनकारीले हङकङकी नेत्री लामको राजीनामाको मागसमेत गर्दै आएका छन्।

एसियाली हब हङकङमा भइरहेको पछिल्लो प्रदर्शन स्वतन्त्रता र स्वायत्तताको मागतर्फ अघि बढिरहेको छ। कुनैबेला बेलायतको उपनिवेशका रूपमा रहेको हङकङ हाल ‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गत चीनको एक महत्वपूर्ण अंगका रूपमा रहेको छ। यही व्यवस्थाका कारण हङकङमा मुख्यभूमि चीनमा भन्दा बढी स्वतन्त्रता, छुट्टै कानुनी व्यवस्था र आफ्नै न्याय प्रणाली रहेको छ। विदेश र रक्षा नीतिबाहेकमा चीन सरकारले हङकङलाई स्वायत्तता प्रदान गरेको छ।

यसैबीच, पछिल्लो पटक प्रदर्शनकारीका माग विशेषतः पाँचवटा प्रमुख मुद्दामा केन्द्रित रहेका छन्। जसमा, प्रशासनले प्रदर्शनलाई ‘दंगा’ भनेर परिभाषित गरेकाले सो फिर्ता हुनुपर्ने, पक्राउ परेका सबैलाई माफी दिइनुपर्ने, प्रदर्शनकारीमाथि प्रहरीद्वारा गरिएको बल प्रयोगको जाँचबुझका लागि स्वतन्त्र आयोग गठन गर्नुपर्ने र हङकङको प्रमुख कार्यकारी र विधायन परिषद्को निर्वाचनका लागि विश्व स्वीकारोक्ति हुनुपर्ने  रहेका छन्। हङकङमा गत आइतबार पनि सरकारविरोधी प्रदर्शन भएको थियो। व्यापारीहरुको खाजा खाने समयमा भएको प्रदर्शनमा सहभागी प्रदर्शनकारीलाई लखेट्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको थियो।

हङकङ टापुका सपिङ मल र कोलुन जिल्लाको तटमा आयोजित प्रदर्शन सुरुमा शान्तिपूर्ण भए पनि केही समयको अन्तरालमै कालो पहिरन लगाएका प्रदर्शनकारीले व्यापारिक मल र मेट्रो स्टेसनमा तोडफोड गर्दै सडकमा राखिएका ब्लकलाई ढालेका थिए।

पसलहरु र मेट्रो स्टेसनमा क्षति पु-याउन थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गर्दा झडप भएको थियो। प्रहरीका अनुसार प्रदर्शनकारीले प्रहरीमाथि इँटा र पेट्रोल बम पनि प्रहार गरेका थिए।

प्रकाशित: २९ आश्विन २०७६ ०१:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App