coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राज्यद्रोहको अभियोगमा क्याटलोनिया नेताहरुलाई कैद

बार्सिलोना – राज्यद्रोहको अभियोगमा स्पेनको सर्वोच्च अदालतले क्याटलन विखण्डनवादी नौ नेतालाई नौदेखि १३ वर्षसम्मको कैद सजाय सुनाएको छ।

सन् २०१७ को विवादित जनमत संग्रहमा उनीहरुको भूमिकालाई लिएर अदालतले उनीहरुलाई जेल सजाय तोकेको बिबिसीले उल्लेख गरेको छ। अन्य तीनजना आरोपितलाई भने अदालतले अनादर गरेकोमा दोषी ठहर गर्दै जरिवाना तोकेको भए पनि जेल सजाय भने सुनाएको छैन। अदालतले सजाय तोकेका १२ जना राजनीतिज्ञ र अधिकारकर्मीले भने सरकारले लगाएको आरोप अस्वीकार गरिरहेका छन्।

अदालतको फैसलाप्रति स्वतन्त्र क्याटलन समर्थकहरुले असन्तुष्टि जनाउँदै सोमबार बार्सिलोनामा विरोध प्रदर्शन गरेका छन्। उनीहरुले सडकमा अवरोध सिर्जना गर्दै प्रदर्शन गरेको बताइएको छ।

सोमबार सजाय सुनाइएका केही नेताहरु क्याटलोनिया सरकार र संसद्मा प्रभावशाली एवं महŒवपूर्ण पदमा आसिन व्यक्तिहरु पनि रहेका छन् भने केही प्रभावशाली अधिकारवादी र सांस्कृतिक अभियन्ताहरु रहेका छन्।

चार महिना लामो सुनुवाईका क्रममा म्याड्रिडस्थित अदालतमा उनीहरुले आफूहरु स्पेन सरकारले सिर्जना गरेको ‘झुटा’ मुद्दामा अन्यायमा परेको जिकिर गरेका थिए।

कसले कति सजाय पाए ?
स्पेनका अभियोजनकर्ताले क्याटलोनियाका पूर्व उपराष्ट्रपति एवं सुनुवाईमा रहेकामध्ये स्वतन्त्रता पक्षधर उच्च नेता ओरिओल जन्कुयर्सलाई २५ वर्षसम्मको सजाय माग गर्दै मुद्दा दायर गरेका थिए। उनलाई सर्वोच्च अदालतले राज्यद्रोह र सार्वजनिक कोषको दुरुपयोग गरेको अभियोगमा सबैभन्दा धेरै १३ वर्ष जेल सजाय सुनाएको छ।

राज्यद्रोहमा जेल सजाय पाउने अन्य क्याटलन नेताहरुमा पूर्व क्याटलन श्रममन्त्री डोलर्स बास्सा १२ वर्ष, क्याटलन सरकारका पूर्व प्रवक्ता जोर्डी टुरुल १२ वर्ष, क्याटलन सरकारका पूर्व बाह्य सम्बन्धमन्त्री राउल रोमेभा १२ वर्ष, क्याटलन संसद्का पूर्व सभामुख कार्मे फोर्काडेल ११.५ वर्ष, क्याटलन सरकारका पूर्व आन्तरिकमन्त्री जोआक्युम फर्न १०.५ वर्ष, क्याटलन सरकारका पूर्व भूभागीयमन्त्री जोसेप रल १०.५ वर्ष, अभियन्ता एवं क्याटलन राष्ट्रिय सभाका पूर्वअध्यक्ष जोर्डी सान्चेज नौ वर्ष र क्याटलन भाषा तथा संस्कृति संगठनका अध्यक्ष जोर्डी क्युजार्ट नौ वर्ष रहेका छन्।

पूर्पक्षका लागि कैयौं महिनादेखि थुनामै रहेका यी नौ नेता तथा अभियन्तामाथि विद्रोहसम्बन्धी मुद्दामा थप सजाय हुनसक्ने बताइएको छ।

बाँकी तीन आरोपित भने यसअघि नै जमानतमा रिहा भइसकेका छन्। कैयौं महिनाको सुनुवाईपछि सोमबारको फैसला आएको हो।

प्रतिक्रिया कस्तो छ ?
सोमबार सजाय पाएका मध्येका उच्च व्यक्ति जन्कुयर्सले राजनीतिक आस्थाका कारण स्पेनले मानिसलाई जेल हाल्ने गरेको भन्दै विखण्डनवादी मुद्दा झन् बलियो हुँदै गएको जिकिर गरेका छन्। तर स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले भने उनीहरुलाई आपराधिक कार्यका लागि जेल सजाय भएको बताएका छन्।  

क्याटलन नेताहरुलाई जेल सजाय तोक्ने सर्वोच्च अदालतको फैसलापछि म्याड्रिडले क्याटलोनिया क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ।

सन् २०१७ मा भागेर बेल्जियम पुगेका क्याटलन पूर्वराष्ट्रपति कार्लेस पुइगडेमन्टले क्याटलोनियाका नेतालाई समग्रमा ‘सय वर्ष जेल हालिएको’ भन्दै स्पेन हिंसातर्फ उन्मुख भएको आरोप  लगाएका छन्।

‘यसअघि कहिले नगरिएको प्रतिक्रिया दिन अब आवश्यक भइसकेको छ,’ उनले ट्विट गर्दै भने, ‘हाम्रा छोराछोरीको भविष्य, लोकतन्त्र, युरोप र क्याटलोनियाका लागि अब केही गर्न पर्ने बेला आएको छ।’

प्रकाशित: २८ आश्विन २०७६ ०३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App