२६ श्रावण २०७७ सोमबार
अन्तर्राष्ट्रिय

तालिबानले उच्चस्तरिय प्रतिनिधिमण्डल पाकिस्तान पठाउने

इस्लामाबाद – अफगानिस्तानको विद्रोही समूह तालिबानले एक उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पठाउने घोषणा गरेको छ। रुस, चीन, पाकिस्तान र इरानको भ्रमण गर्ने यसअघिकै घोषणा बमोजिम प्रतिनिधि मण्डललाई पाकिस्तान पठाउन लागिएको तालिबानले बताएको छ।

एक महिनाअघि संयुक्त राज्य अमेरिकासँगको वार्ता एकाएक भंग भएपछि तालिबान समूहले अफगानिस्तानमा भिषण हमला गर्नुका साथै विभिन्न देशसँग वार्ताका लागि समर्थन जुटाउने कार्यलाई निरन्तरता दिएको छ। तालिबान प्रवक्ता सुहेल साहिनका अनुसार तालिबानका सहसंस्थापक तथा कतारको दोहास्थित राजनीतिक कार्यालयका प्रमुख मुल्लाह अब्दुल घानी बरादरले ११ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्ने छन्। प्रतिनिधि मण्डलले इस्लामाबादमा पाकिस्तानी उच्च अधिकारीसँग वार्ता गर्नेछ।

पाकिस्तानी सञ्चार माध्यमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अफगान विशेषदूत जाल्मे खलिलजाद पाकिस्तानी अधिकारीसँग वार्ताका लागि इस्लामाबादमा रहेको खबर सार्वजनिक गरेसँगै तालिबान समूह पनि पाकिस्तान भ्रमणमा निस्कन लागेको हो।

पाकिस्तानको विदेश मन्त्रालय वा पाकिस्तानस्थित अमेरिकी राजदूतावासले तालिबानको भ्रमण र खलिलजादका विषयमा केही टिप्पणी गरेका छैनन्। पाकिस्तानले अमेरिकासँग कुनै किसिमको सहमति गर्नुअघि काबुलसँग वार्ता गर्न तालिबानलाई मनाउने प्रयत्न जारी राखेको छ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको काबुलमा तालिबानले गराएको कार बम बिस्फोटमा एक अमेरिकी सैनिकको मृत्यु भएसँगै तालिबानसँगको शान्ति वार्ता समाप्त भएको भन्दै वार्ता नगर्ने घोषणा गरेका थिए।
तालिबानले वार्ताको टेबुलमा फाइदा उठाउन खोजेको आरोप लगाउँदै ट्रम्पले यसको अमेरिकाले बदला लिने

संकेतसमेत दिएका थिए। वार्ता रद्द भएको घोषणापछि अफगानिस्तानबाट तत्काल पाँच हजार सैनिक कटौती गर्ने राष्ट्रपति ट्रम्पको प्रस्ताव पनि अन्यौलमा परेको थियो। हाल अफगानिस्तानमा १३ देखि १४ हजार अमेरिकी सैनिक तैनाथ छन्। झण्डै १८ वर्ष अफगानिस्तानमा रहेको अमेरिकी सेनाले हाल अफगान सेनालाई तालिम, परामर्श र हवाई सेवा प्रदान गर्दै आएको छ।

अल–कायदाले सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा आतंकवादी हमला गरेलगत्तै संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा आक्रमण गरी सेना पठाएको थियो। अफगानिस्तानमा तत्कालीन तालिबान सरकारले अलकायदालाई आश्रय दिएको अमेरिकी आरोप छ।

ट्रम्प प्रशासनले हाल अफगानिस्तानमा अमेरिकी सैनिक संलग्नता अन्त्य गर्न चाहेको छ। यसै सिलसिलामा सन् २०१८ देखि तालिबानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादको नेतृत्वमा वार्ता जारी छ। अमेरिका र तालिबानबीच हुने भनिएको सम्झौतामा अफगानिस्तानबाट अमेरिकी सेना चरणबद्ध रूपमा फिर्ता हुने, अफगानिस्तानलाई जिहादीको सुरक्षित आश्रयस्थल बन्न नदिइने, अफगानिस्तान सरकारसँग वार्ता गर्ने तथा अन्ततः युद्धविराम गर्ने बुँदा रहेको बताइएको थियो।

यसैबीच, तालिबान समूहका मुख्य मध्यस्थकर्ताले संयुक्त राज्य अमेरिकासँग ‘वार्ताको ढोका’ अझै खुला रहेको बताएर वार्ताको सम्भावना जीवितै रहेको संकेत गरेका छन्। युद्धग्रस्त मुलुक अफगानिस्तानमा जारी भिषण बम हमलापछि तालिबानका तर्फबाट यस्तो भनाइ सार्वजनिक भएको छ।

तालिबानसँगको वार्ताका मध्यस्थकर्ता शेर मोहम्मद अब्बास स्टानिक्जाईले देशभर भएका आक्रमणमा तालिबान समूह संलग्न रहेको र त्यो सही कदम भएको दाबीसमेत गरेका छन्।

प्रकाशित: १६ आश्विन २०७६ ०८:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App