१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सगरमाथा संवादमा राष्ट्रसंघका महासचिवलाई निम्ता

अशोक दाहाल
न्युयोर्क  - नेपालले निकट भविष्यमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवादमा सहभागी हुन संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरसलाई निमन्त्रणा गरेको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार महासचिव गुटेरसलाई न्युयोर्कस्थित उनको कार्यालयमा भेटी प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट उक्त कार्यक्रममा सहभागी हुन औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन्।

संगरमाथा संवादमा गुटेरसको उपस्थिति हुने÷नहुनेबारे राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकले समयतालिका हेरेर निश्चित गरिने बताए। ‘उहाँ कार्यक्रममा कसरी सहभागी हुनुहुन्छ, हेर्न बाँकी छ, हामीले बैठककोे समयतालिका कुरिरहेका छौं तर हामी जलवायु परिवर्तनका क्षेत्रमा नेपाल अग्रस्थानमा रहेर काम गर्ने मुलुकमध्ये एक हो भन्नेमा सचेत छौं,’ प्रवक्ता डुजारिकले भने।
नेपाल सरकारले जलवायु परिवर्तनसम्बन्धी समस्यालाई अन्तर्राष्ट्रिय रुपमा उठाउन र अन्य मुलुकका आवाज सुन्न सगरमाथा संवाद कार्यक्रम आयोजना गर्न लागेको छ। सगरमाथा संवादमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर र असर न्यूनीकरणका लागि अपनाउनुपर्ने उपायबारे छलफल हुने जनाइएको छ।

परराष्ट्रमन्त्री ज्ञवालीले भेटमा महासचिव गुटेरसले शान्ति, विकास र समृद्धिका पक्षमा नेपालसँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। ‘महासचिव गुटेरसले शान्ति स्थापनामा नेपाली सेना र प्रहरीले गरेको योगदानको प्रशंसा गर्नुभएको छ। उहाँले राष्ट्रसंघले नेपालको विकास प्रयासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’ राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १५ आश्विन २०७६ ०२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App