७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

राष्ट्रपति ट्रम्प राष्ट्रसंघतर्फ प्रस्थान, अमेरिकी कार्यसूचीहरु अलपत्र

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संयुक्त राष्ट्रसंघ महासभामा भाग लिने सिलसिलामा न्यूयोर्कतर्फ प्रस्थान गरेका छन्। राष्ट्रपति भएदेखि नै सुल्झन बाँकी रहेका अनगिन्ती विदेश नीतिहरुको सूची राष्ट्रपति ट्रम्पसँग अझै छन्।    

इरान, उत्तर कोरिया, अफगानी तालिबान, इजरायल र प्यालेस्टाइनका मुद्दाहरु ज्युँकात्युँ छन्। व्यापार सम्झौताका कतिपय विषयहरु टेबलमा अलपत्र छन्। केही व्यापार सम्झौता होलान् कि भन्ने देखिए पनि कतिपय अबरुद्ध भएर थन्किएका छन्।     

राष्ट्रपति ट्रम्पले पटकपटक यी सम्झौताहरु तत्कालै गर्न आफूलाई हतारो नभएको बताउन थालेका छन्। हो मध्यस्थता गर्न समय अवश्य लाग्छ। उनी राष्ट्रपतिको कुर्सीमा रहेको पनि तीन वर्ष भइसक्यो र सन् २०२० को चुनाव संघारमै आइपुगेको छ।     
     
विगतमा रिपब्लीकन र डेमोक्र्याट पार्टीका राष्ट्रपतिसँग काम गरिसकेका पूर्व विदेशमन्त्री निकोलस बन्र्स यतिधेरै सम्झौता हुन नसक्नुमा राष्ट्रपतिलाई मात्र दोष दिने ठाउँ नरहेको बताउँँछन्।    

राष्ट्रपति ट्रम्प चीनका व्यापार नीतिमाथि खरो रुपमा प्रस्तुत भएका छन् र यो ट्रम्पको स्वागतयोग्य कदम रहेको बन्र्सको भनाई छ। अफगानिस्तानमा विगत १८ वर्षदेखि जारी युद्ध अन्त्यका लागि अमेरिकी प्रशासन तालिबानसँग वार्तारत छ।     
     
“तर पनि ट्रम्पले झण्डै तीन वर्षको अवधिमा एउटा पनि विदेश मामिला मुद्दा सुल्झाउन वा निर्णय दिन सकेका छैनन्,” बन्र्सले भने।     
     
ट्रम्पका आलोचकहरुले सफलता बेगर नै राष्ट्रसंघमा उपस्थित हुँदा उनको कमजोर अवस्थालाई नै दर्शाउने बताएका छन्। केही विदेश मामिला विज्ञहरुले केही मुद्दामा अन्तर्राष्ट्रिय मध्यस्थता शुरु हुनु पनि ठूलो कुरा रहेको जनाएका छन्। एक दिन विदेशी नेतामाथि कटु आलोचना गर्ने र अर्को दिन वार्तामा बस्ने ट्रम्प नीतिका कारण सबैजसो रनभुल्लमा परेको उनीहरुको बुझाई छ।     
     
तर राष्ट्रपति ट्रम्पको भनाई छ, “सौदाबाजी गर्ने यो मेरो शैली हो। यसले वर्षौंदेखि मलाई राम्रै फाइदा दिएको छ, र मुलुकलाई पनि फाइदा पुगेको छ।”     
     
राष्ट्रपति ट्रम्पको “अमेरिका पहिलो” मन्त्रले राष्ट्रसंघका यसअघिका महासभामा खासै प्रभाव सिर्जना गर्न सकेनन्। अहिले, अमेरिका र इरानबीच जारी द्वन्द्वका सन्दर्भमा तेहरानमाथि दबाब सिर्जना गर्न राष्ट्रपति ट्रम्पलाई अन्तर्राष्ट्रिय सहयोग चाहिएको छ। रासस

प्रकाशित: ५ आश्विन २०७६ १०:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App