coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सोलोमन द्वीपले ताइवानसँगको कुटनीतिक सम्बन्ध तोड्यो

वेलिङ्टन- प्रशान्त महासागरीय मुलुक सोलोमन द्वीपले ताइवानसँगको कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ। प्रशान्त महासागर क्षेत्रमा सोलोमन द्वीप ताइबानको सबैभन्दा ठूलो गठबन्धन मुलुक थियो।    

सोलोमनले आफ्नो कुटनीतिक सम्बन्ध चीनसँग जोडेको छ। विज्ञहरुका अनुसार प्रशान्त महासागर क्षेत्रका अरु मुलुकले पनि ताइवानसँगको कुटनीतिक सम्बन्ध तोड्ने सम्भावना छ।    

सोलोमनको पछिल्लो निर्णयले ताइबान मात्र नभई अमेरिकालाई पनि असर पर्न सक्नेछ। सोलोमन द्वीप अस्ट्रेलिया र संयुक्तराज्य अमेरिकाको बीचमा अवस्थित छ। यस क्षेत्रमा दोस्रो विश्वयुद्धमा जापान र अमेरिकी गठबन्धनका सेनाबीच भिषण युद्ध भएको थियो।    

सोलोमन द्वीपका प्रधानमन्त्री मनासेह सोगाभारका प्रवक्ता अलेक्स अक्वाईले संसदमा भएको मतदानमा ताइवानसँगको कुटनीतिक सम्बन्ध तोडेर चीनसँग जोड्नुपर्छ भन्ने पक्षमा २७ जना सांसदले मतदान गरेको र छ जना अनुपस्थित रहेको जानकारी दिए। त्यसपछि मन्त्रिपरिषद्को बैठकले पनि सर्वसम्मत रुपमा चीनसँग कुटनीतिक सम्बन्ध स्थापना गर्ने निर्णय गरेको उनले बताए।     
     
अक्वाईले सोलोमनको राजधानी होनियारास्थित ताइवानी राजदूतावासको झण्डा हटाइएको पनि बताए। तर यस बारेमा राजदूतावासका कर्मचारीले केही प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। ताइवानका राष्ट्रपति चाई इङ–वेनले ताइवानले आफ्नो राजदूतावास बन्द गर्ने र त्यहाँ रहेका सबै प्राविधिक तथा मेडिकल कर्मचारीलाई फिर्ता बोलाइने बताए।

'चीनसँग कुटनीतिक सम्बन्ध स्थापना गर्ने सोलोमनको निर्णयको म खेद र भत्र्सना गर्दछु' चाईले बताए। यसैबीच, चीनले सोलोमन द्वीपको निर्णयको स्वागत गरेको छ। 'सोलोमन द्वीप सरकारको यो निर्णयलाई चीनले अत्यन्त सकारात्मक रुपमा लिएको छ। एक चीन नीतिप्रति सोलोमनको प्रतिबद्धता रहेको हामीले ठानेका छौं,' चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।     
     
चीनले ताइवानलाई आफ्नै भूमि ठान्दछ। चीनको मुख्य भूभागबाट ताइवान सन् १९४९ मा अलग्गिएको थियो। प्रशान्त महासागर क्षेत्रमा करिब ६ लाख ६० हजार जनसंख्या रहेको सोलोमन द्वीप चीनका लागि रणनीतिक महत्वको रहेको छ।

प्रशान्त क्षेत्रमा ताइवानसँग कुटनीतिक सम्बन्ध रहेको सोलोमन सबैभन्दा ठूलो राष्ट्र हो। सोलोमनको अर्थतन्त्र मुख्य रुपमा कृषि, माछा मार्ने र वनमा आश्रित छ। यहाँ ठूलो परिमाणमा खनिज पदार्थ रहेको विश्वास गरिन्छ।    

ताइवानलाई कुटनीतिक मान्यता दिने विश्वभर अब १६ वटा मुलुकमात्र बाँकी रहेका छन् जसमा प्रशान्त क्षेत्रका साना पाँच वटा राष्ट्र छन्। प्रशान्त क्षेत्रका मार्शल द्वीप र पलाउसँग अमेरिकाको अति निकट सम्बन्ध रहेको छ। यी दुबै मुलुकले तत्काल ताइवानसँग सम्बन्ध तोड्ने सम्भावना कम छ। तर जानकारहरुका अनुसार किरिबाटी, नाउरु र टुभालुले निकट भविष्यमै ताइवान छाडेर चीनसँग सम्बन्ध जोड्नेछन्। 

अमेरिकी रिपब्लीकन सिनेटर मार्को रुबिओले सोलोमनको कदमबाट अमेरिका चुप लागेर बस्न नहुने बताएका छन्। रासस

प्रकाशित: ३१ भाद्र २०७६ ११:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App