१८ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिका–ताइवान एफ–१६ लडाकु विमान सम्झौता, चीनले गर्‍यो प्रतिबन्ध लगाउने चेतावनी

बेइजिङ – ताइवानलाई एफ–१६ लडाकु विमान बेच्नेबारे वासिङ्टनले गरेको सम्झौतामा संलग्न हुने अमेरिकी कम्पनीमाथि प्रतिबन्ध लगाउने चीनले चेतावनी दिएको छ। ताइवानलाई हतियार बेच्ने र सैन्य सम्पर्क गर्ने कदम तत्काल बन्द गर्न आग्रह गर्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जेङ सुहाङले यस्तो चेतावनी जारी गरेको बिबिसीले उल्लेख गरेको छ।

दशकौंको अवधिमा ठूलो सम्झौता गर्दै अमेरिकी सरकारले ताइवानलाई करिब आठ अर्ब अमेरिकी डलरबराबरको ६६ वटा लडाकु विमान बेच्ने प्रस्ताव अनुमोदन गरेको छ।

चीनले आफ्नो राष्ट्रिय स्वार्थको रक्षा गर्नका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने बताउँदै प्रवक्ता जेङले अमेरिका–ताइवान सम्झौतामा सहभागी हुने सबै कम्पनीलाई चीनमा प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्।

चीनले ताइवानलाई आफ्नो महत्वपूर्ण भूभागका रूपमा लिने गरेको छ। उसले आवश्यक परे मुख्यभूमिमा ताइवानलाई एकीकृत गर्नका लागि बल प्रयोग गर्ने चेतावनी पनि पटक पटक दिने गरेको छ।

अमेरिका र ताइवानबीच हुने हतियार खरिद सम्झौताबारे बेइजिङले निरन्तर विरोध गर्दै आइरहेको छ। पछिल्लो पटक पनि अमेरिकाले ताइवानलाई हतियार बेच्ने सम्झौता गरेको थियो, जुन कार्यलाई उसले कडा शब्दमा निन्दा गरेको थियो।

अमेरिका र ताइवानबीच गत महिना करिब दुई अर्ब २० करोड अमेरिकी डलरबराबरको ट्ंयाक र क्षेप्यास्त्र किन्नेबार सम्झौता भएको थियो, जसलाई बेइजिङले निन्दा गरेको थियो।

यसपटक भने अमेरिकाले ताइवानलाई ६६ वटा लडाकु विमान बेच्नेबारे सम्झौता गरेको छ। यसबारेको घोषणा अमेरिकी रक्षा सुरक्षा सहयोग निकायले संसद्लाई उपलब्ध गराएको आधिकारिक जानकारीद्वारा मंगलबार गरिएको हो।

सो निकायले जारी गरेको एउटा विज्ञप्तिमा ताइवानलाई ६६ वटा एफ–१६ लडाकु विमान, ७५ वटा जनरल इलेक्ट्रिक इन्जिन र अन्य प्रणाली बिक्री गर्ने सम्झौता भएको उल्लेख गरिएको छ। लडाकु विमान बेच्नेलगायतको सम्झौता अमेरिकी राष्ट्रिय स्वार्थ भएको र यसले ताइवानको सुरक्षा व्यवस्था पनि सुदृढ हुने उसले जनाएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जेङले ताइवानलाई हतियार बेच्नेबारे अमेरिकी सम्झौता अन्तर्राष्ट्रिय कानुन र सम्बन्धको उल्लंघन हुनुका साथै एक चीन नीतिको विरुद्धमा पनि रहेको बताएका छन्। अमेरिकाले पनि एक चीन नीतिलाई स्वीकार गरी बेइजिङसँग औपचारिक सम्बन्ध कायम गरेको उनले बताएका छन्।

चीनले आफ्नो राष्ट्रिय स्वार्थको रक्षा गर्नका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने बताउँदै प्रवक्ता जेङले अमेरिका–ताइवान सम्झौतामा सहभागी हुने सबै कम्पनीलाई चीनमा प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्।

प्रकाशित: ५ भाद्र २०७६ ०६:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App