७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भारतद्वारा चन्द्रयान–२ को प्रक्षेपण

आन्ध्र प्रदेशस्थित सतिस धवन स्पेस सेन्टरबाट सोमबार दोस्रो चन्द्र अभियानको प्रक्षेपण गर्दै भारत । तस्बिर ः एजेन्सी

नयाँ दिल्ली – एक साताअघि प्राविधिक कारण देखाइ स्थगित गरिएको चन्द्रयान–२ लाई भारतले सोमबार अन्तररिक्षमा प्रक्षेपण गरेको छ । अहिलेसम्म मानव पाइला नपुगेको र कम अन्वेषण गरिएको चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–२ लाई अवतरण गर्ने प्रयास गरिने बताइएको छ । यो अभियानअन्तर्गत चन्द्रमाको सतहमा पानी र खनिजको खोज अघि बढाइने भारतीय अन्तरिक्ष निकाय (आइएसआरओ) लाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले जनाएको छ । चन्द्रमामा गएका कम्पनको मापन गर्ने योजना पनि अभियानको रहेको छ ।

भारतको आन्ध्र प्रदेशको दक्षिणी सामुद्रिक तटीय क्षेत्रमा रहेको श्रीहरिकोटास्थित ‘सतिस धवन स्पेस सेन्टर’बाट आइतबार दिनको ठीक २ बजेर ४३ मिनेटमा लेन्डर विक्रम र रोभर प्रज्ञान नामक उपग्रहसहित चन्द्रयान–२ अन्तरिक्षका लागि छुटेको आइएसआरओले जनाएको छ ।

एक साता पहिले प्रक्षेपणका लागि तयारी अवस्थामा रहेको चन्द्रयान–२ प्रक्षेपण हुन तोकिएको समयभन्दा ५६ मिनेट पहिले स्थगित गरिएको थियो । यानको इन्जिनमा रहेको हिलियम ग्यासको बोतलमा चुहावट देखिएका कारण प्रक्षेपणको उक्त साइतलाई रद्द गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सफल प्रक्षेपणपछि यानको निर्माण र अध्ययनका लागि खटिएको वैज्ञानिकको समूहलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।

जुलाई १५ मा यानलाई प्रक्षेपणका लागि पृथ्वीको कक्षमा सफलतापूर्वक राखिएको समय भारतीय अन्तरिक्ष निकाय (आइएसआरओ) का प्रमुख अधिकारी के सिभानले यानमा प्राविधिक समस्या आएको बताउँदै अनिश्चित समयका लागि उडान स्थगित भएको बताएका थिए । तर सोमबार सफल प्रक्षेपणपछि उनले भने, ‘भारतले आफ्नो सबैभन्दा शक्तिशाली रकेट जिएसएलभी एमके–तृतीयको प्रयोग गरी चन्द्रयान–२ लाई पृथ्वीको कक्षमा पु¥याउन सहयोग गरेकोे छ । चन्द्रमाका लागि यो भारतको ऐतिहासिक यात्रा हुनेछ र यानलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरी चन्द्रमासँग सम्बन्धित वैज्ञानिक नयाँ अनुसन्धानलाई अघि बढाइनेछ ।’

आइएसआरओले उक्त अन्तरिक्षयान ‘एक अर्ब सपनालाई चन्द्रमा लैजान पहिले भन्दा अझ प्रतिबद्ध’ भएको उल्लेख गरेको छ । प्रक्षेपणमा विलम्ब भएपनि चन्द्रयान–२ अभियानलाई साथ दिएको भन्दै आइएसआरओले सबैलाई धन्यवाद दिएको छ ।

लेन्डर विक्रमले २७ किलो तौल भएको चन्द्रमामा हिँड्ने एउटा वाहन बोक्नेछ र उसले चन्द्रमाको भूसतहको अन्वेषण गर्नेछ । त्यस्तै १४ दिनको आयुमा प्रज्ञान नामक वाहन चन्द्रमाको सतहमा करिब आधा किलोमिटर यात्रा गरी त्यहाँका तस्बिर खिची पृथ्वीमा अध्ययनका लागि पठाउन सक्ने भारतीय अन्तरिक्ष निकायले जनाएको छ ।
अन्तरिक्षयान चन्द्रमाको सतहमा आगामी सेप्टेम्बर ६ वा ७ तारिखमा अवतरण हुने आइएसआरओले बताएको छ । परियोजनाका लागि भारतले १५ करोड अमेरिकी डलर खर्च गरेको उक्त यानको तौल ६ सय ४० टन रहेको आइएसआरओले उल्लेख गरेको छ ।

सफल प्रक्षेपणपछि यानको निर्माण र अध्ययनका लागि खटिएको वैज्ञानिकको समूहलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएको एएनआईले उल्लेख गरेको छ ।

भारतको पहिलो चन्द्र अभियान ‘चन्द्रयान १’ चन्द्रमाको सतहमा अवतरण गरेको थिएन । तर त्यसले राडारको प्रयोग गरि चन्द्रमाको सतहमा पहिलो पटक र एकदमै विस्तृत रूपमा पानीको खोजी अघि बढाएको थियो । सन् २००८ मा सो चन्द्रयानलाई प्रक्षेपण गरेको थियो । चन्द्रयान–२ परियोजनाका लागि झण्डै एक हजार इन्जिनियर तथा वैज्ञानिक खटिएका छन् । पहिलो पटक आइएसआरओले यस्तो प्रकृतिको अन्तरिक्ष दलमा महिलालाई नेतृत्वको जिम्मेवारी दिएको छ । दुई जना महिलाले भारतको चन्द्रमा यात्राको नेतृत्व गरिरहेको छन् ।

प्रकाशित: ७ श्रावण २०७६ ०४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App