१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आणविक सम्झौताका केही अंश इरानले तोड्यो

देशको युरेनियम प्रशोधन केन्द्रको निरीक्षण गर्दै इरानी राष्ट्रपति हसन रौहानी। फाइल तस्बिर ः एजेन्सी

तेहरान – विश्वका छ शक्तिशाली राष्ट्र र इरानबीच सन् २०१५ मा भएको आणविक सम्झौताअन्तर्गत गरिएको प्रतिबद्धतालाई तेहरानले निलम्बन गरेको छ। सम्झौताको एउटा प्रमुख पक्ष संयुक्त राज्य अमेरिकाले एक वर्षअघि नै सो सम्झौताबाट हात झिकिसकेको छ।

इरानी राष्ट्रपति हसन रौहानीले देशमा युरेनियमको भण्डारलाई मजबुत बनाउने उद्घोष गरेसँगै तेहरानले आणविक सम्झौता निलम्बन गरेको हो। राष्ट्रपति रौहानीले युरेनियम प्रशोधन विदेशमा बेच्न नभई देशकै भण्डारमा राख्न गरिने बताएका छन्। उनले आगामी ६० दिनमा देशको युरेनियम उत्पादनलाई पुनः सुरु गर्ने चेतावनीसमेत दिएको बिबिसीले उल्लेख गरेको छ।

इरानमाथि लाग्दै आएको प्रतिबन्ध हटाउने र त्यसको बदलामा उसले आणविक महŒवाकांक्षालाई छोड्ने शर्तमा सन् २०१५ मा विश्वका छ शक्तिशाली राष्ट्र र इरानबीच आणविक सम्झौता भएको थियो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ को सो सम्झौता घोखा भएको भन्दै बाहिर निस्किएपछि तेहरान र वासिङ्नबीच तनाब चुलिँदै गएको छ। वासिङ्टनले सम्झौताबाट फिर्ता भएलगत्तै तेहरानमाथि पुनः प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धका कारण इरानको अर्थतन्त्र थप समस्याग्रस्त भएको छ।

इरानसँग त्यसबखत संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी, रुस, चीन र बेलायतले आणविक सम्झौता गरेका थिए। अमेरिकाले सो सम्झौताबाट हात झिके पनि बाँकी राष्ट्र भने सो सम्झौतामा अडिग रहेका छन्। इरानले सम्झौताका बाँकी पक्षधर राष्ट्रलाई आफूहरुले सन् २०१५ को आणविक सम्झौताका केही अंशलाई निलम्बन गरेको बारे बुधबार बिहान जानकारी गराएको बिबिसीले उल्लेख गरेको छ।

इरानले सम्झौताअन्तर्गत रहेर आफ्नो अधिकारको प्रयोग गरेको र अब यसबारे सोच्ने काम सम्झौता पक्षधर युरोपका तीन राष्ट्रको भएको  इरानका विदेशमन्त्री जाभाद जारिफले बताए। आणविक सम्झौता जीवित रहोस् भन्ने उद्देश्यसहित युरोपेली शक्तिले सबै काम गरिरहको इरानी विदेशमन्त्रीले गराएको जानकारीमाथि प्रतिक्रियामा दिँदै फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लीले बताइन्। यद्यपि इरानले सम्झौता तोडे त्यसले थप प्रतिबन्ध र असर निम्त्याउने उनको भनाइ छ।

सम्झौताबाट वासिङ्टनले हात झिक्नु नै हालको अवस्था सिर्जना हुनका कारण भएको चीन र रुस दुवैले आरोप लगाउँदै आएका छन्। सन् २०१५ को आणविक सम्झौताअनुसार इरानले बढी भएको प्रशोधित युरेनियम देशमा राख्नु भन्दा पनि विदेशमा बेच्नु पर्ने व्यवस्था उल्लेख गरिएको छ।

इरानको नागरिक आणविक शक्ति उत्पादनको प्रमुख उत्पादनका रूपमा लिइने युरेनियम एक महत्वपूर्ण बस्तु हो र यसलाई आणविक हतियार बनाउका लागि प्रयोग गर्न सकिन्छ। विदेशमा युरेनियम बेचेर इरानले आफ्नो आणविक शक्तिलाई निरन्तर बढाउन सक्छ र आणविक सम्झौताका पक्षधर राष्ट्रले पनि उसले युरेनियम बेचेकै कारण आणविक हतियार नबनाएको भनेर ढुक्क हुनसक्ने अवस्था रहन्छ।

अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले बिना तयारी इराकको भ्रमण गरेपछि र अमेरिकाले खाडी क्षेत्रमा अमेरिकी विमान तैनाथ गरेपछि इरानको यस्तो घोषणा बाहिरिएको बिबिसीले उल्लेख गरेको छ। इरानबाट आफ्ना फौज र गठबन्धनका सदस्यलाई चुनौती रहेको वासिङ्टनले बताउँदै आए पनि कस्तो खालको चुनौती छ भन्नेबारे भने केही बताएको छैन।

प्रकाशित: २६ वैशाख २०७६ ०३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App