१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलंकामा पुनः बम विस्फोट

क्याप्सन ः श्रीलंकामा आइतबार गराइएको शृंखलाबद्ध बम विस्फोटमा परी मृत्यु भएकाको सम्झनामा पाकिस्तानको एक विद्यालयमा भएको श्रद्धाञ्जली सभामा सहभागी विद्यार्थी। तस्बिरः एएफपी

कोलम्बो – श्रीलंकाको राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार पुनःबम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ। बम विस्फोटबाट मानवीय हताहत नभएको प्रहरी स्रोतलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

गत आइतबार तीन पाँचतारे होटल र तीनवटा गिर्जाघरमा गराइएको शृंखलाबद्ध बम विस्फोटमा मृत्यु हुनेको संख्या बिहीबार मध्याह्नसम्म ती सय ६० जना पुगेको अधिकारीहरुले बताएका छन्। मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानीसमेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलंकाको विदेश मन्त्रालयले जनाएको छ। विस्फोटबाट करिब पाँच सय व्यक्ति घाइते भएका छन्। उपचार गराइरहेका घाइतेमध्ये अझै केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेकाले मृतकको संख्यामा वृद्धि हुनसक्ने अधिकारीहरुलाई उद्धृत गर्दै एएफपीले जनाएको छ।

आइतबार राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च, नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्च र बाट्टिकोलोआस्थित चर्चमा विस्फोट गराइएका थिए। यस्तै राजधानीका पाँचतारे होटल सांग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि विस्फोट गराइएका थिए। विस्फोटको जिम्मेवारी अन्तर्राष्ट्रिय आतंकवादी समूह इस्लामिक स्टेटले लिएको छ तर सरकारले श्रीलंकामै सामान्य सक्रिय समूह ‘नेसनल तौहिद जमात’को संलग्नताको आशंका गरेको छ। यो समूहलाई अन्तर्राष्ट्रिय आतंकवादी समूहले मद्दत गरेको हुनसक्ने श्रीलंका सरकारको अनुमान छ।

विभिन्न गिर्जाघर र होटलमा गराइएको शृंखलाबद्ध आत्मघाती आक्रमणमा अतिवादी इस्लामिक समूह इस्लामिक स्टेटको संलग्नता रहेको वा नरहेकोबारे सरकारले अनुसन्धान गरिरहेको बताइएको छ। इस्लामिक स्टेटले आफ्नो आधिकारिक समाचार पोर्टल ओमाकमार्फत विस्फोटको जिम्मेवारी लिएको थियो। विस्फोटमा संलग्न अधिकांश व्यक्तिको पहिचान खुलेको र उनीहरु सबै श्रीलंकाली नागरिक रहेको प्रहरीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ।

श्रीलंकाली सरकारले गत आइतबार गराइएको आत्मघाती बम विस्फोटका घटना रोक्न नसक्नुमा आफ्नो गुप्तचर संयन्त्रको ‘गम्भीर त्रुटि’ भएको स्वीकार गरेको छ।

श्रीलंका फर्कनुअघि आक्रमणकारीमध्ये एकजनाले बेलायत र अस्ट्रेलियामा अध्ययन गरेको खुल्न आएको अधिकारीहरुले बताएका छन्। आइतबारको शृंखलाबद्ध आक्रमणमा नौजनामध्ये आठ जना श्रीलंकाली नागरिक रहेको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

यसैबीच श्रीलंकाली सरकारले गत आइतबार भएका आत्मघाती बम विस्फोटनका घटना रोक्न नसक्नुमा आफ्नो गुप्तचर संयन्त्रको ‘गम्भीर त्रुटि’ भएको स्वीकार गरेको छ। श्रीलंकामा एउटा योजनाबद्ध आक्रमण हुनसक्ने भन्दै भारतले यसै महिनाको पहिलो साता दिएको सूचनाबारे सम्बन्धित अधिकारीहरुले मन्त्रिपरिषद्लाई उचित तरिकाले जानकारी नदिएको संसद्समक्ष बताइएको छ।

राष्ट्रपति मैथ्रिपला सिरिसेनाले सम्भावित आक्रमणबारे प्राप्त गुप्त सूचनाको जानकारी दिन असफल भएको भन्दै त्यहाँका रक्षा सचिव र प्रहरी प्रमुखलाई पदमुक्त गरिदिएका छन्। राष्ट्रपति सिरिसेनाले एउटा टेलिभिजन सम्बोधनमा त्यहाँका विभिन्न सुरक्षा निकायमा व्यापक परिवर्तन गर्ने बताएको एक दिनपछि उनीहरूलाई पदबाट हटाइएको बिबिसीले उल्लेख गरेको छ। उनले रक्षा सचिव हेमसिरी फर्नान्डो र प्रहरी प्रमुख पुजिथ जयसुन्दरालाई पदबाट हटाएको बताइएको छ। आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले हालसम्म ६० जनालाई पक्राउ गरेको बताएको छ।

सयौं मानिसको मृत्यु हुने गरी घटाइएको शृंखलाबद्ध आक्रमणपछि श्रीलंकामा राष्ट्रिय संकटकाल लगाइएको छ। राष्ट्रिय संकटकाल लगाइएपछि देशको सुरक्षा अंगलाई अदालतको आदेशबिनै संदिग्धलाई पक्राउ गर्ने र हिरासतमा राख्ने विशेष अधिकार पनि प्राप्त भएको छ। यद्यपि यस्तै आक्रमणको घटना पुनः हुनसक्ने भन्दै श्रीलंकाली नागरिक भने त्रासमा रहेको बिबिसीले उल्लेख गरेको छ।

प्रहरीले अझै पनि शंकास्पद व्यक्तिहरूको खोजी गरिरहेको बताएको छ। आइतबारको घटनापछि श्रीलंकाले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको थियो र त्यसै दिन कैयौं मृतकहरुको सामूहिक अन्तिम संस्कारसमेत गरिएको थियो।

प्रकाशित: १३ वैशाख २०७६ ०२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App