१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विकिलिक्सका संस्थापक जुलियन असान्ज पक्राउ

क्याप्सनः पक्राउ परेपछि वेस्टमिन्स्टर म्याजिस्ट्रेट अदालतमा ल्याइएका विकिलिक्स संस्थापक जुलियन असान्ज। तस्बिरः एजेन्सी

लन्डन–  लन्डनस्थित इक्वेडरको राजदूतावासबाट विकिलिक्सका संस्थापक जुलियन असान्ज पक्राउ परेका छन्। बलात्कारसम्बन्धी मुद्दालाई लिएर स्विडेनमा हुने सुपुर्दगीबाट बच्न असान्जले सन् २०१२ मा इक्वेडरको दूतावासमा शरण लिएका थिए। अदालतमा आत्मसमर्पण गर्नेबारे अदालतको आदेश परिपालन नगरेको विषयमा असान्जलाई बिहीबार वेस्टमिन्स्टर म्याजिस्ट्रेट अदालतमा दोषी ठहर गरिएको थियो।

उनीविरुद्ध हालसम्मकै ठूलोमध्येको सरकारी गोप्य विवरण चुहावट गरेको अभियोगमा अमेरिकामा पनि मुद्दा चलिरहेको छ। इक्वेडरका राष्ट्रपतिले असान्जको राजनीतिक शरण फिर्ता लिइएको बताएका छन्। विकिलिक्सले भने एउटा ट्विट गर्दै इक्वेडरले गैरकानुनी रूपमा असान्जको राजनीतिक शरणलाई हटाउने निर्णय गरेको आरोप लगाएको छ। उसले इक्वेडरले ‘अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको’ आरोप पनि लगाएको छ। वेस्टमिन्स्टर म्याजिस्ट्रेट अदालत लानुपूर्व ४७ वर्षीय असान्जलाई सुरुमा मध्य लन्डन प्रहरी स्टेसनमा लगिएको थियो। कालो सुट र कालो पोलो सर्टमा देखिएका असान्जले सर्वसाधारणतर्फ हात हल्लाएका थिए र बूढी औंला उठाएका थिए। सन् २०१२ को मुद्दामा अदालतमा आत्मसमर्पण नगरेर आफूले कुनै गल्ती नगरेको भन्दै उनले अदालतसमक्ष आफूलाई निर्दोष साबित गर्न आग्रह गरेका थिए।

पक्राउ पर्दै गर्दा असान्जले पक्राउ गैरकानुनी भएको भन्दै आफूले दूतावास नछोड्ने अडान लिएर कराएको विषय पनि अदालतमा सुनुवाइका क्रममा उठाइएको थियो। उनलाई दोषी ठहर गर्दै जिल्ला न्यायाधीश माइकल स्नोले भने, ‘असान्जको व्यवहार आफैंलाई ठूलो ठान्ने खालको भएको र उनको व्यवहार आफ्नो स्वार्थभन्दा बाहिर ननिस्कने प्रकृतिको रहेको छ।’ त्यसपछि न्यायाधीश स्नोले असान्जबारे फैसला गर्नका लागि उनलाई साउथवार्क क्राउन अदालतमा पठाएका थिए। असान्जविरुद्ध अमेरिकी मुद्दासमेत भएकाले त्यसका लागि पनि मे २ का दिन भिडियो लिंकमार्फत अमेरिकी अदालतमा सुनुवाई हुने बिबिसीले उल्लेख गरेको छ। गोप्य कागजात र तस्बिर प्राप्त गर्ने र प्रकाशन गर्ने उद्देश्यसहित अस्ट्रेलियन नागरिक असान्जले सन् २००६ मा विकिलिक्सको स्थापना गरेका थिए। विकिलिक्स त्यतिबेला हिट भयो जब उसले आफ्नो स्थापनाको चार वर्षपछि सन् २०१० मा अमेरिकी सेनाले इराकमा हेलिकप्टरबाट सर्वसाधारण नागरिकलाई हत्या गरिरहेको तस्बिर प्रकाशित ग¥यो।

गोपनियता विरोधी वेबसाइटका लागि सात लाखभन्दा बढी गोप्य कागजात, भिडियो र कूटनीतिक केबल उपलब्ध गराएको आरोपमा सन् २०१० मै पूर्व अमेरिकी गुप्तचर विश्लेषक चेल्सी म्यानिङलाई अमेरिकी प्रहरीले पक्राउ गरेको थियो। उनले त्यसबेला आफूले अमेरिकी विदेश नीतिबारे नयाँ ढंगको बहसको सुरुवात गर्नका लागि मात्रै यस्तो गरेको बताए पनि अमेरिकी अधिकारीहरुले भने विवरण उपलब्ध गराएर उनले कैयौंको जीवन धरापमा पारेको आरोप लगाउँदै आएका छन्। बलात्कारको आरोपमा स्विडेनमा सुपुदर्गी हुनबाट बच्नका लागि असान्जले सन् २०१२ देखि लन्डनस्थित इक्वेडरको दूतावासमा राजनीतिक शरण लिँदै आएका थिए।

यद्यपि बलात्कारसम्बन्धी सो मुद्दा उनले अस्वीकार गर्दै आइरहेका थिए। सो मुद्दा पछि गएर खारेज गरिएको थियो। उनको राजनीतिक शरण फिर्ता लिने इक्वेडर सरकारको निर्णयपछि लन्डनस्थित इक्वेडरका राजदूतले दूतावासमै प्रहरीलाई आमन्त्रण गरेको लन्डन प्रहरीले जनाएको छ। अदालतमा आत्मसमर्पणका लागि दिएको आदेश असान्जले नमानेपछि सुपुदर्गी वारेन्टअन्तर्गत अमेरिकी प्रशासनको आग्रहमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। अमेरिकी न्याय विभागले एक विज्ञप्ति जारी गर्दै असान्जको सुपुदर्गीको विषय चेल्सी म्यानिङसँग सम्बन्धित रहेको बताएको छ।
 

प्रकाशित: २९ चैत्र २०७५ ०१:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App