७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अमेरिका र चीनका व्यापार प्रतिनिधिबीच वार्ता

बेइजिङ - संयुक्त राज्य अमेरिका र चीनका वरिष्ठ अधिकारीबीच व्यापार वार्ताका बारेमा टेलिफोनमा कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

दुई देशका व्यापार प्रतिनिधिबीचको टेलिफोन वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको सम्भावित शिखर बैठकको मिति भने तय नभएको बताइएको छ । अमेरिकी अर्थ मन्त्री स्टिभन मनचिन र व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले चीनका वरिष्ठ आर्थिक अधिकारी लिउ हेसँग टेलिफोनमा कुराकानी गरेका थिए । उनीबीच व्यापारसम्बन्धी मुलभूत विषयमा छलफल भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

विश्वका दुई शक्तिशाली अर्थतन्त्र संयुक्त राज्य अमेरिका र चीनबीच गत वर्षदेखि नै युद्धको रुप लिएको व्यापारिक तनाव जारी छ । दुवै मुलुकले एकअर्का मुलुकका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानमा कर वृद्धि गरेका छन् । विश्व अर्थतन्त्रका पहिलो र दोस्रो स्थानमा रहेका अमेरिका र चीनको व्यापार तनावले विश्वको आर्थिक वृद्धिमै असर पार्न थालेको छ।

दुवै देशका वरिष्ठ अधिकारी व्यापारका क्षेत्रमा उत्पन्न असमझदारी अन्त्य गर्ने उपायको खोजी गरी नयाँ सम्झौता गर्ने तयारीमा छन् । दुई मुलुकबीच कुनै किसिमको सम्झौता नभए अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा थप करवृद्धि गर्ने चेतावनी दिइसकेका छन् ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले व्यापार वार्ताका क्रममा सुल्झन बाँकी मुद्दालाई टुंगो लगाई सम्झौतामा हस्ताक्षर गर्न अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपतिबीच अमेरिकाको फ्लोरिडामा शिखर बैठक हुनसक्ने बताएको छ । यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्पकी प्रवक्ता सराह स्यान्डर्सले दुई राष्ट्रपतिबीचको शिखर बैठकको मिति घोषणा गर्ने समय आइनसकेको बताएकी छन् । ‘दुई राष्ट्रपतिबीचको बैठकको मितिको कुनै टुंगो लागेको छैन । चीनसँगको व्यापार वार्ता अझै जारी छ,’ सराहले ह्वाइट हाउसमा बताइन् । ‘वार्तामा सहमति हुने सम्भावना हुनासाथ बैठकको मिति घोषणा हुन्छ,’ साराहलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । 

सराहले दुवै राष्ट्रपतिबीच टेलिफोनमा तत्काल कुराकानी हुने बारेमा आफूलाई जानकारी नभएको बताएकी छन् । उनले संयुक्त राज्य अमेरिकालाई हानि हुने कुनै पनि किसिमको सम्झौता राष्ट्रपति ट्रम्पलाई स्वीकार्य नहुने पनि स्पष्ट पारेकी छन् ।

 

प्रकाशित: २९ फाल्गुन २०७५ ०२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App