१५ चैत्र २०८० बिहीबार
अन्तर्राष्ट्रिय

मेक्सिको सीमामा पर्खाल बनाउन फेरि ८.६ अर्ब डलर माग

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण गर्न आठ अर्ब ६० करोड अमेरिकी डलर आवश्यक रहेको भन्दै सो रकम उपलब्ध गराउन अमेरिकी कंग्रेससमक्ष आग्रह गरेका छन्।

बजेट मागसँगै राष्ट्रपति ट्रम्प र कंग्रेस (संसद्)बीच पुनः संघर्ष चर्किने खतरा बढेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। पर्खाल निर्माणका लागि अघिल्लो पटक माग गरिएको रकमका विषयमा कंग्रेसमा सहमति नहुँदा अमेरिकी संघीय कार्यालय ३५ दिनसम्म आंशिक रुपमा बन्द भएका थिए। अमेरिकी इतिहासमै सबैभन्दा लामो अवधिसम्म कार्यालय बन्द हुँदा आठ लाखभन्दा बढी कर्मचारी प्रभावित भएका थिए। डेमोक्रेटिक पार्टीका तर्फबाट सभामुख बनेकी न्यान्सी पेलोसी र सिनेटमा डेमोक्रेटिक पार्टीका नेता चक सुमर दुवैले राष्ट्रपतिको आग्रहप्रति आपत्ति जनाइसकेका छन्। उनीहरुले राष्ट्रपति ट्रम्पले जबर्जस्ती गरे कंग्रेसले बजेट अस्वीकृत गर्ने चेतावनीसमेत दिएका छन्।

राष्ट्रपति ट्रम्पले सोमबार अबेर संसद्समक्ष बजेट पेश गर्दै छन्। ह्वाइट हाउसका आर्थिक सल्लाहकार ल्यारी कुड्लोले नयाँ प्रस्तावले फेरि संसद्मा विवाद उत्पन्न हुनसक्ने स्वीकारेका छन्। ‘मेरो विचारमा शक्ति संघर्ष अवश्य चर्कन्छ,’ उनले बताए।

कुड्लोले राष्ट्रपति ट्रम्प आफ्नो चुनावी वचनबद्धताप्रति अहिले पनि अडिग रहेको बताए। ‘राष्ट्रपति ट्रम्प सीमामा पर्खाल लगाउन र सीमा सुरक्षालाई कडाइ गर्न प्रतिबद्ध हुनुहुन्छ,’ कुड्लोले भने।

अमेरिकी संसदमा डेमोक्रेटिक पार्टीको बहुमत रहेकाले ट्रम्पको नयाँ योजना पारित हुने सम्भावना ज्यादै न्यून छ। न्यान्सी पेलोसी र चक सुमरले जारी गरेको संयुक्त वक्तव्यमा अति खर्चिलो र अप्रभावकारी पर्खाल निर्माणको निहुँ बनाएर राष्ट्रपति ट्रम्पले लाखौं लाख अमेरिकीको चित्त दुखाएको आरोप लगाइएको छ। ‘कंग्रेसले यो पर्खालमा लगानी गर्न अस्वीकृत गर्दै  राष्ट्रपतिलाई हार स्वीकार्न बाध्य पारेको थियो। अहिले राष्ट्रपतिले त्यहि पुरानो कुरा दोहो¥याउन चाहेको देखिन्छ,’ वक्तव्यमा भनिएको छ।

अमेरिकी अखबार ‘द वासिङ्टन पोस्ट’का अनुसार राष्ट्रपतिले आन्तरिक सुरक्षा विभागमार्फत ५ अर्ब र रक्षा मन्त्रालयबाट ३ अर्ब ६० करोड डलर बजेट विनियोजन गरी त्यसलाई पर्खाल निर्माणमा लगाउने भित्री योजना बनाएका छन्। ह्वाइट हाउसका कतिपय अधिकारीहरुले कंग्रेसले पर्खाल निर्माणका लागि बजेट विनियोजन नगरे राष्ट्रपतिले सीमामा आपतकालीन स्थिति घोषणा गरी बजेटमा विशेषाधिकार (भिटो) लगाउन सक्ने बताएका छन्।

प्रकाशित: २८ फाल्गुन २०७५ ०७:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App