२५ श्रावण २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

साउदीको सोफा कारखानामा आगलागी हुँदा १६ बङ्गलादेशीको मृत्यु

साउदी अरेबियाको राजधानी रियादस्थित एक सोफा कारखानामा भएको भीषण आगलागीमा १६ जना बङ्गलादेशी नागरिकको मृत्यु भएको छ।

बङ्गलादेशको विदेश मन्त्रालयले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन साउदी अधिकारीसँग समन्वय भइरहेको जनाएको छ।

रियादको मुसा सनैया क्षेत्रमा रहेको सोफा कारखानामा आइतबार आगलागी भएको थियो। घटनामा ज्यान गुमाउने सबै बङ्गलादेशी नागरिक रहेको बङ्गलादेशको विदेश मन्त्रालयले सोमबार पुष्टि गरेको हो।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै मृतकप्रति गहिरो दुःख तथा परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। कठिन परिस्थितिमा मृतकका परिवारसँग सरकार साथमा रहेको र आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि मन्त्रालयले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै रियादस्थित बङ्गलादेशी दूतावासका अधिकारी घटनास्थल पुगेका थिए। दूतावासले साउदी अधिकारीसँग समन्वय गरी आगलागीमा ज्यान गुमाउनेहरूको पहिचान पुष्टि गर्ने तथा शव हस्तान्तरणसम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

रियादस्थित बङ्गलादेशी दूतावासले घटनाबारे थप विवरण सङ्कलन गर्न तथा प्रभावित व्यक्तिलाई आवश्यक सहयोग उपलब्ध गराउन टोली परिचालन गरेको छ।

दूतावासका अनुसार मृतकको पहिचान पुष्टि, कानूनी औपचारिकता पूरा गर्ने तथा पीडितका परिवारलाई आवश्यक सहजीकरण गर्ने काम प्राथमिकताका साथ भइरहेको छ।

दूतावासले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा रियादको मुसा सनैया क्षेत्रमा भएको आगलागीमा प्रवासी बङ्गलादेशी नागरिकको मृत्यु भएकोमा दुःख व्यक्त गरेको छ।

घटनाको खबर पाएपछि दूतावासको प्रतिनिधिमण्डल तत्काल घटनास्थल पुगेको र घटनाको विस्तृत विवरण सङ्कलन सुरु गरेको दूतावासले जनाएको छ।

बङ्गलादेशको विदेश मन्त्रालयले घटनाको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। मन्त्रालयका अनुसार मृतकको पहिचान तथा अन्य कानूनी प्रक्रिया पूरा गर्न सम्बन्धित साउदी अधिकारीसँग निरन्तर समन्वय भइरहेको छ।

साउदी अरेबियामा ठूलो सङ्ख्यामा बङ्गलादेशी नागरिक रोजगारीका लागि कार्यरत छन्। रियादमा भएको पछिल्लो घटनाले प्रवासी श्रमिकको कार्यस्थल सुरक्षा तथा आपत्कालीन अवस्थामा उनीहरूको संरक्षणको विषयलाई पुनः चर्चामा ल्याएको छ।एएनआई

प्रकाशित: २५ श्रावण २०८३ १२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App