४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फिलिपिन्समा शक्तिशाली आँधी, १४ को मृत्यु

म्याङकुट आँधीले बिजुलीको पोल ढालेपछि त्यसलाई उठाउन खोज्दै उद्धारकर्मी। तस्बिर : एजेन्सी

मनिला – उत्तरी फिलिपिन्स तटीय क्षेत्रमा आएको म्याङकुट नामक शक्तिशाली आँधीका कारण १४ जनाको मृत्यु भएको राष्ट्रपतिका सल्लाहकारले बताएका छन्।

आँधीका कारण १४ जनासम्मको ज्यान गएको फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेका राजनीतिक सल्लाहकार फ्रान्सिस टोलेन्टिनोले बताएका छन्।

फिलिपिन्सको मुख्य टापु लुजोनलाई सबैभन्दा बढी प्रभावित बनाएको आँधी अहिले चीनतर्फ अगाडि बढिरहेको बिबिसीले जनाएको छ।

आँधीका कारण टुगुएगाराओ सहरमा रहेका लगभग सबै घरमा क्षति पुगेको सरकारी अधिकारीले जानकारी गराएका छन्। आँधीका कारण सो क्षेत्रमा सञ्चार सेवासमेत अवरुद्ध भएको बताइएको छ।

दुई सय किलोमिटर प्रतिघन्टाको वेगमा अघि बढिरहेको शक्तिशाली म्याङकुट आँधीको मार्गमा ४० लाखभन्दा बढी मानिस रहेका थिए। आँधीका कारण हजारौं मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ । अधिकारीहरुले आँधीका कारण ६ मिटरसम्मको तुफानी लहर आउनसक्ने चेतावनी दिएका छन् । आँधीका कारण आएको पहिरोमा परेका मानिसलाई उद्धार गर्न गएका दुई जना उद्धारकर्ताको पनि मृत्यु भएको पुष्टि भएको छ । तटीय सहर अप्पारीमा पनि मानिसको हताहती भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । सर्वसाधारणलाई सुरक्षित तरिकाले राख्न बनाइएको केन्द्र पनि आँधीका कारण ध्वस्त भएको र सो क्षेत्रको फोन नेटवर्क पनि नचलेको फिलिपिनी अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

फिलिपिन्समा सन् २०१३ मा आएको हैयान नामक आँधी अहिलेसम्मकै सबैभन्दा खतरनाक आँधीका रूपमा लिइन्छ । सो आँधीका कारण सात हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो।

प्रकाशित: ३१ भाद्र २०७५ ०३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App