इजरायलले गाजा पट्टीमा शुक्रबार गरेको हवाई आक्रमणमा १५ जना प्यालेस्टिनीको मृत्यु भएको जनाइएको छ। प्यालेस्टिनी समाचार एजेन्सी (वफा) ले १५ जना मृतक मध्ये ११ जनाको मृत्यु गाजा सहरमै भएको रिपोर्ट गरेको छ। यसैबिच, दक्षिणी गाजाको अल–मवासी, खान युनूसमा इजरायलले एउटा गाडीलाई लक्षित गरी आक्रमण गर्दा तीन जनाको मृत्यु भएको एजेन्सीले जनाएको छ।
इजरायली सेनाले अल–मग्राबी स्ट्रिटमा नागरिकहरूको समूह र सहरको पश्चिमको अन्सार क्षेत्रमा आक्रमण गर्दा दक्षिणी गाजा सहरको अल–सब्रामा थप हताहत भएको रिपोर्ट गरिएको छ। उद्धार टोलीले गाजा सहरको दक्षिणपूर्वमा रहेको अल–जायतुनमा रहेको अल–फलाह स्कूलको भग्नावशेष मुनिबाट दुई प्यालेस्टिनीको शव बरामद गरेको जनाएको छ। जहाँ पाँच दिन अघि उद्धार टोलीहरूलाई लक्षित इजरायली सेनाले प्रहार गरेको थियो।
यसका साथै पूर्वी गाजा सहरको उमर अल–मुख्तार सडक नजिकै इजरायली आक्रमणका कारण अधिकाशं बालबालकिासहित धेरै नागरिकहरू घाइते भएको जनाइएको छ।
सन् २०२३ अक्टोबर देखि गाजामा जारी इजरायली आक्रमणले अहिलेसम्म ६६ हजार २२५ प्यालेस्टिनीहरूको ज्यान लिएको छ भने एक लाख ६८ हजार ९३८ भन्दा बढी घाइते भएका छन्। हजारौँ पीडितहरू इजरायली आक्रमणका कारण आपत्कालीन र नागरिक सुरक्षा टोलीहरूका लागि दुर्गम भग्नावशेषमुनि फसेको आशंका गरिएको छ।
प्रकाशित: १७ आश्विन २०८२ १८:०१ शुक्रबार





