रुसको कामचाट्का प्रायद्वीप नजिक बुधवार बिहान ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प पछि सुनामी आउन थालेको छ। रोयटर्सका अनुसार, कामचाट्कामा ४ मिटरसम्म अग्ला सुनामीका छाल उठेका छन्, जसका कारण धेरै इमारतहरूमा क्षति पुगेको छ।कामचाट्काका गभर्नर भ्लादिमिर सोलोडोभले भिडियो पोस्ट गर्दै भनेका छन्, ‘आजको भूकम्प पछिल्ला दशकमै सबैभन्दा शक्तिशाली हो।’ उनले एक किण्डरगार्टन भवनमा क्षति पुगेको जानकारी पनि दिएका छन्।
जापानको टेलिभिजनका अनुसार, जापानको पूर्वी तट नजिक १ फिट (करिब ३० से.मी.) अग्ला प्रारम्भिक सुनामीका छालहरू देखिएका छन्।अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार, भूकम्पको केन्द्र जमिनको १९.३ किलोमिटर गहिराइमा रहेको थियो। भारतीय समय अनुसार बिहान ४ः५४ बजे यो भूकम्प आएको हो। हालसम्म मानवीय क्षतिको कुनै ठोस विवरण प्राप्त भएको छैन।
क्यालिफोर्नियाका तटीय क्षेत्रहरूका लागि सुनामीको चेतावनी जारी गरिएको छ। आज दिउँसो १२ः२० बजेसम्म पहिलो सुनामी लहर पुग्न सक्ने अनुमान गरिएको छ।त्यहाँ १० देखि ३६ घण्टासम्म विभिन्न सुनामी लहरहरू आउन सक्ने सम्भावना छ। नागरिकहरूलाई समुद्री किनारा र बन्दरगाहबाट टाढा रहन आग्रह गरिएको छ।
सनफ्रान्सिस्कोस्थित भारतीय महावाणिज्य दूतावासले पनि एक अलर्ट जारी गर्दै अमेरिका विशेष गरी क्यालिफोर्निया, पश्चिमी तटीय राज्यहरू र हवाईमा बसोबास गर्ने भारतीयहरूलाई निम्न ४ कुरामा ध्यान दिन आग्रह गरेको छ । उसले अमेरिकी अधिकारीहरू, स्थानीय आपत्कालीन व्यवस्थापन निकाय र अमेरिकी सुनामी चेतावनी केन्द्रद्वारा जारी सूचनामा नजर राख्न,सुनामीको चेतावनी जारी भएमा सुरक्षित र उच्च स्थानतर्फ जान अनि तटीय क्षेत्रहरूमा नजान भनेको छ । त्यस्तै आपत्कालीन तयारी गर्न, मोबाइल वा उपकरणहरू चार्ज गरेर राख्न अनुरोध गरेको छ। एजेन्सी
प्रकाशित: १४ श्रावण २०८२ ०८:३७ बुधबार





