२६ असार २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

९० औं जन्मदिनको पूर्वसन्ध्यामा दलाई लामाले भने : म अझै ४० वर्ष बाँच्छु

तिब्बती बौद्ध आध्यात्मिक नेता दलाई लामाले आफ्नो ९० औं जन्मदिनको पूर्वसन्ध्यामा एक सय ३० वर्षसम्म बाँच्ने आशा व्यक्त गरेका छन्।

उनले यो कुरा शनिबार आफ्ना अनुयायीहरूले आयोजना गरेको दीर्घायु प्रार्थना समारोहमा भनेका हुन्। यो भनाइ उनको मृत्युपछि पुनर्जन्म र उत्तराधिकारीको विषयमा चलिरहेको अनुमानलाई शान्त पार्ने प्रयास गरेको केही दिनपछि आएको हो।

हजारौंको प्रार्थनाको नेतृत्व गर्दै, मन्त्र, ढोल र तुरहीको आवाज गुन्जिरहँदा उनले भने, ‘अहिलेसम्म, मैले मेरो सक्दो प्रयास गरेको छु र अवलोकितेश्वर (बौद्ध आध्यात्मिक रक्षक) को निरन्तर आशीर्वादले, म अझै ३० वा ४० वर्ष बाँच्ने आशा गर्दछु, चेतनशील प्राणीहरू र बुद्ध धर्मको सेवा गरिरहनेछु।’

दलाई लामाले गत डिसेम्बरमा रोयटर्सलाई आफू ११० वर्षसम्म बाँच्न सक्ने बताएका थिए। उनले ‘विगतको परम्परा’ अनुसार आफ्नो उत्तराधिकारी छनोट हुने पुष्टि गरे, जसले शताब्दीयौं पुरानो पदको बारेमा वर्षौंदेखिको अनुमानलाई अन्त्य गरेको छ।

बुधवार एक भिडियो सन्देशमा उनले गादेन फोड्राङ फाउन्डेसनले आफ्नो भविष्यको पुनर्जन्म पहिचान गर्ने जिम्मेवारी पाउने बताएका थिए। तिब्बती बौद्ध नेताहरूले उनको उत्तराधिकारी खोज्ने छन्। उनले भने, ‘यस विषयमा हस्तक्षेप गर्ने अधिकार अरू कसैलाई छैन।’

दलाई लामाले हालै बौद्ध धर्मावलम्बीहरूबाट संस्थाको निरन्तरताको लागि आह्वान प्राप्त गरेको बताएका छन्। उनले भने, ‘यी सबै अनुरोधअनुसार म दलाई लामाको संस्था जारी रहनेछ भनी पुष्टि गर्छु।’ यो कुरा उनले धर्मशालामा आयोजित तीन दिने धार्मिक सम्मेलनमा व्यक्त गरेका हुन्। उनी सन् १९५९ मा चीनविरुद्धको असफल विद्रोहपछि तिब्बतबाट भागेर भारतस्थित धर्मशालामा बस्दै आएका छन्।

अल जजीरासँग कुरा गर्दै तिब्बती लेखक तथा कार्यकर्ता तेन्जिन सुन्डुले दलाई लामाको घोषणालाई तिब्बत स्वायत्त क्षेत्र शासन गर्ने र उत्तराधिकारी नियुक्त गर्ने शक्ति दाबी गर्ने चीनका लागि ‘आँखामा मुक्का’ को रूपमा वर्णन गरेका छन्।

नोबेल शान्ति पुरस्कार विजेता दलाई लामालाई चीनले ‘पृथकतावादी’ भन्छ। उनले बेइजिङलाई ‘लामाहरूको पुनर्जन्म प्रणालीमा हस्तक्षेप नगर्न’ चेतावनी दिएका छन्।

बुधवार उनको टिप्पणीको जवाफमा चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले दलाई लामाको उत्तराधिकार बेइजिङको केन्द्रीय सरकारले अनुमोदन गर्नुपर्ने र यो ‘सुनौलो कलशबाट चिठ्ठा हालेर’ गरिने बताइन्। दलाई लामाले पहिले नै चेतावनी दिएका छन् कि त्यो कलश बेइमानीपूर्वक प्रयोग भएमा यसमा ‘कुनै आध्यात्मिक गुण’ हुनेछैन। एजेन्सी

प्रकाशित: २१ असार २०८२ १४:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App