३१ असार २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायल र इरानमाथि खनिए ट्रम्प, बोले अपशब्द

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले मध्यस्थता गरेको युद्धविराम उल्लङ्घन गरेको भन्दै इजरायल र इरान दुवैमाथि आक्रोश व्यक्त गरेका छन्।

उनले आक्रोश व्यक्त गर्ने क्रममा अमेरिकी राष्ट्रपतिको पदमा रहेर सायदै कसैले सार्वजनिक रूपमा प्रयोग गर्ने खालको ‘अपशब्द’ समेत प्रयोग गरे।

मंगलबार  ह्वाइट हाउसबाट बाहिरिँदै गर्दा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले दुवै देशलाई लक्षित गर्दै भने, ‘हामीसँग दुईवटा यस्ता देश छन् जो यति लामो समयदेखि लडिरहेका छन् कि उनीहरूलाई के गरिरहेछन् भन्ने पनि थाहा छैन।’

उनको यो टिप्पणी अमेरिकी राष्ट्रपतिले बोल्ने सामान्य कूटनीतिक भाषाभन्दा निकै फरक र अभूतपूर्व मानिएको छ।

ट्रम्पले विशेषगरी इजरायललाई थप आक्रमण नगर्न र ‘शान्त हुन’ चेतावनी दिएका छन्। उनले भने, ‘इजरायलले, हामीले सम्झौता गर्ने बित्तिकै, यति ठूलो बम खसाल्यो जुन मैले पहिले कहिल्यै देखेको थिइनँ।’

ट्रम्पले मध्यस्थता गरेको युद्धविराम लागू भएलगत्तै इजरायलले आफ्नो हवाई क्षेत्रमा मिसाइल प्रहार गरेको आरोप इरानले लगाएको थियो। इजरायली अर्थमन्त्रीले ‘तेहरान काम्नेछ’ भन्दै बदला लिने चेतावनी दिएका थिए। यता, इरानले भने युद्धविरामपछि कुनै मिसाइल प्रहार नगरेको दाबी गरेको छ।

यद्यपि, उत्तरी इजरायलमा बिहानैदेखि साइरन बजेका थिए र विस्फोटका आवाज सुनिएका थिए। इजरायली सेनाका एक अधिकारीले दुईवटा इरानी मिसाइललाई खसालिएको बताएका छन्। इजरायलले गरेको एक हवाई हमलामा इरानका एक प्रमुख आणविक वैज्ञानिक मोहम्मद रेजा सेदिघी साबेरको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ।

ट्रम्पको हस्तक्षेपपछि इजरायल पछि हट्यो

सुरुमा दुवै पक्षप्रति आक्रोशित देखिएका ट्रम्पले पछि आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा युद्धविराम पुनः कायम भएको घोषणा गरे। उनले लेखे, ‘इजरायलले इरानमाथि आक्रमण गर्ने छैन। सबै विमानहरू घर फर्कनेछन्। कसैलाई केही हुने छैन, युद्धविराम लागू भएको छ !’

लगत्तै, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले पनि ट्रम्पसँगको कुराकानीपछि इरानविरुद्धको कडा आक्रमण रोकिएको पुष्टि गरेको छ।

विगत १२ दिनदेखि जारी द्वन्द्व इरानको आणविक कार्यक्रमलाई लिएर सुरु भएको थियो। इरानले आणविक हतियार बनाउन लागेको भन्दै इजरायलले इरानी आणविक तथा सैन्य अखडाहरूमा आक्रमण सुरु गरेको थियो। यस द्वन्द्वमा अमेरिकी सेनाले समेत ‘बंकर-बस्टर’ बम खसालेपछि युद्ध विस्तार हुने चिन्ता बढेको थियो।

सोमबार इरानले कतारस्थित अमेरिकी सैन्य अखडामा सीमित जवाफी हमला गरेपछि ट्रम्पले युद्धविरामको घोषणा गरेका थिए। द्वन्द्वमा हालसम्म इजरायलतर्फ २८ जना र इरानतर्फ ९७४ जनाभन्दा बढीको मृत्यु भइसकेको मानवअधिकारवादी संस्थाहरूले जनाएका छन्।

प्रकाशित: १० असार २०८२ २०:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App