२५ असार २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

किन इरानसँग आणविक हतियार हुन सक्दैन, जब अमेरिकालगायतका देशसँग छ?

विश्वका केही मुठीभर देशसँग मात्र आणविक हतियार छ। यसमा बेलायत, अमेरिका, रुस, चीन, फ्रान्स, भारत, पाकिस्तान र उत्तर कोरिया पर्छन्। इजरायलसँग पनि आणविक हतियार छ भन्ने विश्वास गरिन्छ। तर न त यसको पुष्टि भएको छ न त उसले अस्वीकार नै गरेको छ।

त्यसो भए किन केही देशसँग मात्र आणविक हतियार हुन सक्छ र अरू कसैले प्राप्त गर्न सक्दैन? यसको उत्तर सन् १९६८ मा हस्ताक्षर गरिएको आणविक अप्रसार सन्धि (एनपीटी) मा छ। त्यसमा कुनै पनि देशले आम नागरिकको प्रयोगका लागि आणविक कार्यक्रम चलाउन पाउने उल्लेख छ। तर सन्धि हुँदा आणविक हतियार भएका देश बाहेक अरू कुनै पनि देशले यसमा पहुँच पाउन नहुने स्पष्ट पारिएको छ।

एनपीटी सबैका लागि कानुनी रूपमा बाध्यकारी छ। सन्धिमा इरानसहित धेरैजसो देशले हस्ताक्षर गरेका छन्। इजरायल, भारत, पाकिस्तान र दक्षिण सुडानले हस्ताक्षर गरेनन्। उत्तर कोरिया पनि यस सन्धिबाट पछि हटेको छ।

यस सन्धिको सुरुवाती चरणमा भारत र पाकिस्तानलाई आणविक हतियार सम्पन्न राष्ट्रको रूपमा मान्यता दिइएको थिएन। यदि दुई देश सो सन्धिमा सामेल भएमा आफ्ना हतियार नष्ट गर्नुपर्ने सर्त राखिएको थियो।

दक्षिण सुडान एउटा नयाँ देश हो, जसको कुनै आणविक कार्यक्रम छैन। इजरायलले यो सन्धिमा हस्ताक्षर नगरेको कारण उसले आफ्नो आणविक कार्यक्रमको निरीक्षण गर्न अनुमति दिँदैन, जुन एनपीटी अन्तर्गत आवश्यक हुन्छ।

इरान, अरब देश र अन्य देशले लामो समयदेखि इजरायललाई निशस्त्रीकरण गर्न दबाब दिँदै आएका छन्। इजरायल आणविक कार्यक्रमको बारेमा पारदर्शी हुनुपर्ने माग गर्दै आएका छन्। इरानले सधैं आणविक हतियार बनाउने कुरालाई अस्वीकार गर्दै आएको छ। आफूसँग कुनै पनि आणविक हतियार नभएको दाबी उसको छ। इरानको कुरामा धेरै देश (विशेषगरी पश्चिमी) सहमत छैनन्।

इजरायलले आफूसँग आणविक हतियार छ भनी कहिल्यै आधिकारिक रूपमा स्वीकार गरेको छैन। तर विश्वभर यो विश्वास गरिन्छ कि इजरायलसँग आणविक हतियार छ। विशेषज्ञहरूले अनुमान गरे अनुसार इजरायलसँग ९० देखि ४०० आणविक हतियार हुन सक्छन्। इजरायलले सन् १९६६ देखि १९६७ बीचमा पहिलो आणविक हतियार बनाएको विश्वास गरिन्छ।

यसरी हेर्दा इजरायल विश्वको छैटौँ आणविक शक्ति बन्यो। सन् २०२३ नोभेम्बरमा गाजा युद्धका क्रममा इजरायली मन्त्री अमिहाइ एलियाहुले गाजामा आणविक बम प्रयोग गर्न सकिने सम्भावना उल्लेख गरेका थिए। जसलाई कतिपयले इजरायलको आणविक क्षमताको अप्रत्यक्ष स्वीकारोक्ति माने। तर पछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उनलाई निलम्बन गरेका थिए।

इजरायलको डिमोना नजिकैको नेभेग न्यूक्लियर रिसर्च सेन्टरमा आणविक रिएक्टर र पुनःप्रशोधन प्लान्ट रहेको विश्वास गरिन्छ। सन् १९५० को अन्त्यतिर फ्रान्सको सहयोगमा गोप्य रूपमा निर्माण सुरु भएको बताइन्छ। सन् १९६३–१९६६ मा अर्जेन्टिनाबाट ९० टन युरेनियम अक्साइड आयात गरेको र सन् १९६५ मा पुनःप्रशोधन प्लान्टले हतियार–ग्रेड प्लुटोनियम उत्पादन गर्न सुरु गरेको बताइन्छ।

एनपीटीमा नभएका कारण इजरायलको आणविक कार्यक्रममा अन्तर्राष्ट्रिय परमाणु ऊर्जा सङ्गठनले निरीक्षण गर्दैन। हालैका घटनाक्रमले इरानको आणविक कार्यक्रमलाई थप जटिल बनाएको छ। सन् २०२५ जुनमा इजरायलले इरानको आणविक प्लान्टमा आक्रमण गरेको घटनाले अन्तर्राष्ट्रिय चासो बढाएको छ।

इरानले एनपीटीमा हस्ताक्षर गरेको भए पनि युरेनियम संवर्धन गतिविधि र गोप्य कार्यक्रमका कारण पश्चिमी देशहरूले शङ्का व्यक्त गर्दै आएका छन्। सन् २०१५ को आणविक सम्झौताबाट अमेरिका बाहिरिएपछि इरानले आफ्नो आणविक गतिविधि तीव्र पारेको छ। हालै इरानले एनपीटीबाट बाहिरिने धम्की समेत दिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै अमेरिकी अधिकारीहरूले इरानको आणविक कार्यक्रमलाई पूर्ण रूपमा निस्तेज पार्ने बताउँदै आएका छन्। अमेरिका ‘बङ्कर–बस्टर’ बम प्रयोग गरी इरानको गहिरो जमिनमुनिका आणविक केन्द्रलाई निशाना बनाउने तयारीमा रहेको चर्चा भइरहेको छ। यता, इरानले इजरायलको डिमोना आणविक प्लान्टलाई निशाना बनाउन सक्ने मिसाइल क्षमता रहेको दाबी गरिएको छ, जसले क्षेत्रीय द्वन्द्वलाई आणविक स्तरमा पु¥याउने जोखिम छ।

आणविक हतियार भएका देशहरू
संयुक्त राज्य अमेरिका: १९४५ (पहिलो परमाणु परीक्षण "ट्रिनिटी" जुलाई १६, १९४५ मा)  
रूस (पूर्व सोभियत संघ): १९४९ (पहिलो परीक्षण अगस्त २९, १९४९ मा)  
संयुक्त अधिराज्य (बेलायत): १९५२ (पहिलो परीक्षण अक्टोबर ३, १९५२ मा)
फ्रान्स: १९६० (पहिलो परीक्षण फेब्रुअरी १३, १९६० मा)  
चीन: १९६४ (पहिलो परीक्षण अक्टोबर १६, १९६४ मा)  
भारत: १९७४ (पहिलो परीक्षण "स्माइलिंग बुद्धा" मे १८, १९७४ मा; पूर्ण हतियार १९९८ मा)  
पाकिस्तान: १९९८ (पहिलो परीक्षण मे २८, १९९८ मा)  
उत्तर कोरिया: २००६ (पहिलो परीक्षण अक्टोबर ९, २००६ मा)  
इजरायल: (अनौपचारिक, १९६० को अन्त्य वा १९७० को सुरुमा; सार्वजनिक रूपमा पुष्टि भएको छैन)
इजरायलले आणविक हतियारको बारेमा आधिकारिक पुष्टि गरेको छैन, तर विशेषज्ञहरूले उसलाई आणविक शक्ति भएको मान्छन्। एजेन्सीको सहयोगमा

प्रकाशित: ७ असार २०८२ १४:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App