३० असार २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आफू विमान दुर्घटनामा बाँचेको एक यात्रुको दाबी, भन्छन्- ‘होस खुल्दा शवहरूको थुप्रोमा थिएँ’

<br>

एयर इन्डिया विमान दुर्घटनाको त्रासदीबीच एक व्यक्तिले आफू बाँच्न सफल भएको दाबी गरेका छन्। अहमदाबादको सिभिल अस्पतालमा उपचाररत ४० वर्षीय विश्वास कुमार रमेशले उडानको अन्तिम क्षणको दर्दनाक अनुभव सुनाए।

हिन्दुस्तान टाइम्ससँग कुराकानी गर्दै उनले अस्पतालको बेडबाटै भने, ‘विमान उडेको करिब ३० सेकेन्ड मात्र भएको थियो, एक्कासी ठूलो आवाज आयो र विमान तल खस्यो। सबै कुरा यति छिटो भयो कि कसैले केही सोच्ने मौका नै पाएन।’

आफू बाँच्न सफल भएको दाबी गर्ने विश्वास कुमार रमेशको टिकट।

‘होस खुल्दा शवहरूको थुप्रोमा थिएँ’ 

सिट नम्बर ११-ए मा बसेको बताउने विश्वासका अनुसार, दुर्घटनापछि जब उनको होस खुल्यो, त्यो दृश्य कल्पना बाहिरको थियो। ‘जब म ब्यूँझिएँ, मेरो वरिपरि शवहरूको थुप्रो थियो। डरले मुटु काँप्यो, म जसोतसो उठेँ र ज्यान जोगाउन बाहिर दौडिएँ। चारैतिर विमानका टुक्रा-टुक्रा थिए,’ उनले त्यो त्रासदीपूर्ण क्षण सम्झँदै भने, ‘कसैले मलाई समातेर एम्बुलेन्समा राखेर यहाँ ल्यायो।’

बेलायती नागरिक विश्वास आफ्ना दाइ अजय कुमार रमेशसँगै बेलायत फर्कंदै थिए। अहिले उनी अस्पतालबाटै आफ्ना दाइको खोजी गरिरहेका छन्। ‘उहाँ मसँगै यात्रा गर्दै हुनुहुन्थ्यो, तर अहिले कता हुनुहुन्छ थाहा छैन। कृपया उहाँलाई खोजिदिनुहोस्,’ उनले आग्रह गरे।

यसैबीच, अस्पताल परिसरमा विमानमा सवार अन्य यात्रुका परिवारजन आफ्ना मान्छेको खोजीमा भौंतारिरहेका छन्। सोही विमानमा रहेका गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणीका आफन्त र सहयोगीहरू पनि अस्पतालमा उनको खोजी गरिरहेका भेटिएका थिए।

एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान चालक दलसहित २४२ जना बोकेर लन्डनका लागि उडेको थियो। उडेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनामा अन्य जीवित कोही फेला परेको आधिकारिक पुष्टि भइसकेको छैन।

प्रकाशित: २९ जेष्ठ २०८२ २०:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App