१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हमास गाजामा स्थायी युद्धविरामका लागि नयाँ शान्ति वार्ताका लागि तयार

हमासले बिहीबार एक विज्ञप्तिमार्फत गाजामा स्थायी युद्धविराम सम्झौताका लागि नयाँ र गम्भीर वार्तामा सहभागी हुन तयार रहेको बताएको छ।

हमासका वरिष्ठ नेता तथा वार्ता टोलीका प्रमुख खलिल अल–हय्याले भने, ‘हामी सबै सम्बन्धित पक्षहरूसँग मिलेर युद्धको अन्त्य, स्थायी युद्धविराम, गाजा क्षेत्रबाट कब्जा हटाउने, आम जनताका लागि तत्काल राहत र नाकाबन्दी अन्त्य गर्ने र सम्मानजनक बन्दी विनिमय सम्झौता गर्ने प्रयास गरिरहेका छौं।’

उनले थपे, ‘मध्यस्थकर्तासँगको संवाद निरन्तर छ र वार्ताको नयाँ चरणका लागि तयारी भइरहेको छ।’ साथै, अल–हय्याले अमेरिकाबाट प्रस्तावित पछिल्लो युद्धविराम प्रस्तावलाई अस्वीकार नगरेको, तर युद्ध अन्त्य सुनिश्चित गर्न केही आवश्यक सुधार गर्नुपर्ने बताए।

उनले हमास गाजाको प्रशासन, यदि सबै पक्षको सहमति हुन्छ भने, कुनै पनि पेशागत र राष्ट्रिय प्यालेस्टिनी निकायलाई तुरुन्त हस्तान्तरण गर्न तयार रहेको बताए।

मार्च १८ मा इजरायलले गाजामा सैन्य गतिविधि पुनः सुरु गरेपछि जनवरीमा भएको युद्धविराम प्रभावकारी रूपमा समाप्त भएको थियो। पछिल्ला केही प्रयास भए पनि स्थायी युद्धविराम कायम गर्न अझै सफलता मिलेको छैन। गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार, सन् २०२३ को आक्रमण सुरु भएदेखि गाजामा ५४ हजार छ सय ७७ जनाको मृत्यु भएको छ।

प्रकाशित: २३ जेष्ठ २०८२ २१:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App