पाकिस्तानसँगको हालैको द्वन्द्वपछि विवादित हिमालय क्षेत्र कश्मीरमा पहिलो भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार श्रीनगर पुगेका छन्। उनले त्यहाँ रणनीतिक रेलवेको उद्घाटन गरे।
सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि भारत र पाकिस्तानबीच तनावको केन्द्र रहेको मुस्लिम बहुल कश्मीरका लागि मोदीले अर्बौं डलरका परियोजना सुरु गरेका छन्।
भारत र पाकिस्तानले गत महिना चार दिने तीव्र द्वन्द्व लडे, जुन मे १० मा युद्धविराममा सहमति हुनुअघि सन् १९९९ पछिको सबैभन्दा खराब गतिरोध थियो।
प्रधानमन्त्रीको कार्यालयले एक हजार तीन सय १५ मिटर लामो (चार हजार तीन सय १४ फिट) स्टिल र कङ्क्रिटको चेनाब पुलको अवलोकन बिन्दुमा मोदीको तस्बिर प्रसारण गरेको थियो। यो पुलले तल नदीभन्दा ३५९ मिटर माथि दुई पहाड जोड्छ।
‘वास्तुकलाको असाधारण उपलब्धि हुनुका साथै चेनाब रेल पुलले कनेक्टिभिटीमा सुधार गर्नेछ,’ मोदीले भ्रमणअघि सामाजिक सञ्जालमा लेखे।
मोदीले आगमनलगत्तै विशाल भारतीय झण्डा फहराउँदै रेल यातायातका लागि पुल औपचारिक रूपमा खुला भएको घोषणा गरे।
नयाँदिल्लीले चेनाब पुललाई ‘संसारको सबैभन्दा अग्लो रेलवे आर्क पुल’ भनेको छ। गिनिज वल्र्ड रेकर्डले यो पुलले चीनको नजीहे रेलवे पुललाई उछिनेको पुष्टि गरेको छ।
२७२ किलोमिटर (१६९ माइल) लामो उधमपुर–श्रीनगर–बारामुल्ला रेलवे, ३६ सुरुङ र नौ सय ४३ पुलसहित, ‘क्षेत्रीय गतिशीलता रूपान्तरण र सामाजिक–आर्थिक एकीकरणलाई बढावा दिन’ बनाइएको मोदीको कार्यालयले जनाएको छ।
यो पुलले मानिस, सामान र सेनाको आवागमन सहज बनाउनेछ, जुन पहिले दुर्गम पहाडी सडक र हवाई मार्गबाट मात्र सम्भव थियो। ‘रेलवेले सबै मौसममा सम्पर्क सुनिश्चित गर्नेछ, आध्यात्मिक पर्यटन बढाउनेछ र जीविकाका अवसर सिर्जना गर्नेछ,’ मोदीले भने।
यो रेलवे लाइनले हिन्दू बहुल जम्मूको कटरा सहर र मुस्लिम बहुल कश्मीरको श्रीनगरबीचको यात्रा समयलाई आधाले घटाएर करिब तीन घन्टामा पुर्याउने अपेक्षा छ।
गत महिनाको द्वन्द्वमा मिसाइल, ड्रोन र तोपखानाको गोलीबारीमा ७० जनाभन्दा बढीको मृत्यु भएको थियो। अप्रिल २२ मा भारत प्रशासित कश्मीरमा सर्वसाधारणमाथि भएको आक्रमणबाट लडाइँ सुरु भएको थियो।
नयाँदिल्लीले यो आक्रमणलाई पाकिस्तानले समर्थन गरेको आरोप लगाएको छ, जसलाई इस्लामाबादले अस्वीकार गरेको छ। भारत प्रशासित कश्मीरमा विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै ३५ वर्षदेखि विद्रोह चलाएका छन्। एएफपी
प्रकाशित: २३ जेष्ठ २०८२ १५:१८ शुक्रबार





