१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानी टिकटकर सनाको जन्मदिनमै गोली हानी हत्या, एक पक्राउ

पाकिस्तानकी चर्चित सामाजिक सञ्जाल प्रभावकर्ता (टिकटक स्टार) सना युसुफको उनकै घरमा गोली हानी हत्या गरिएको छ।

घटना इस्लामावादको जी-१३ क्षेत्रमा भएको हो। आक्रमणकारीले गोली प्रहार गरेलगत्तै फरार भएका थिए। पछि उनलाई पक्राउ गरिएको छ।

सञ्चारमाध्यमका अनुसार, २ जुनमा सना आफ्नो १७औं जन्मदिन मनाइरहेकी थिइन्। सोही दिन एक व्यक्ति आफन्त बनेर उनको घरमा प्रवेश गरेको थिए।

प्रहरीका अनुसार, आरोपीले सुरुमा सनासँग घरबाहिर केहीबेर कुराकानी गरेका थिए र त्यसपछि घरभित्र पसेर गोली चलाएका थिए। सनालाई निकै नजिकबाट दुई गोली लागेको र घटनास्थलमै उनको मृत्यु भएको थियो।

केही घण्टामै हत्यारा पक्राउ

समा टिभीको रिपोर्ट अनुसार, सना युसुफका हत्यारा पक्राउ परिसकेका छन्। आरोपी पञ्जाबका हुन् र उनको सनासँग पहिलेदेखि नै चिनजान रहेको बताइएको छ। प्रारम्भिक अनुसन्धानले हत्याको पछाडि व्यक्तिगत रिसइबी रहेको देखाएको छ।

प्रहरीले संदिग्धको साथबाट हत्यामा प्रयोग भएको हतियार पनि बरामद गरेको छ। अधिकारीहरूले सीसीटीभी फुटेजको मद्दतले आरोपीलाई पक्राउ गर्न सफल भएको बताएका छन्। हाल घटनाको थप अनुसन्धान भइरहेको छ।

घटनापछि सनालाई तत्काल पिम्स अस्पताल लगिए पनि चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए। पोस्टमार्टमपछि सनाको अन्तिम संस्कार इस्लामावादको एच-८ कब्रिस्तानमा गरिएको थियो।

सनाकी आमा फरजाना युसुफले यस सम्बन्धमा प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। उनले प्रहरीलाई एक अज्ञात व्यक्ति आफ्नो घरमा प्रवेश गरी छोरीमाथि दुई गोली प्रहार गरेको बताइन्। उनले हत्यारालाई अगाडि ल्याएमा चिन्न सक्ने पनि बताएकी छन्।

१७ वर्षीया सना युसुफ मूल रूपमा चित्रालकी थिइन्। उनी सामाजिक सञ्जालमा निकै लोकप्रिय थिइन्। सनाले हाँस्य, जीवनशैली, सांस्कृतिक जागरण र शैक्षिक सन्देशसँग सम्बन्धित सामग्रीहरू पोस्ट गर्थिन्।

टिकटकमा उनका ७ लाख २५ हजार र इन्स्टाग्राममा करिब ५ लाख फलोअर्स थिए। उनको रूपरङ्गका कारण मानिसहरूले उनको तुलना चर्चित अभिनेत्री हानिया आमिरसँग पनि गर्ने गर्थे। सना मेडिकलको तयारी गरिरहेकी थिइन्।

प्रकाशित: २० जेष्ठ २०८२ १६:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App