बंगलादेश सेनाले अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस सरकारविरुद्ध कू गर्ने भनेर भइरहेको अनुमानलाई अफवाह भनेको छ। डेली स्टार अखबारका अनुसार सैनिक मुख्यालयका अधिकारीहरूले सोमबार ढाका क्यान्टमा पत्रकार सम्मेलनमा यस्ताे जानकारी दिएका हुन्। सेनाले त्यस्तो कुनै छलफल नभएको भन्दै त्यस्ताे मनसाय नराखेकाे खुलस्त पारेकाे छ।
सेनाले राखिन करिडोरलाई संवेदनशील मुद्दा मानेको उल्लेख गरेकाे छ। सेनाले यसमा कुनै सम्झौता नहुने बताएको छ। पत्रकारहरूको प्रश्नमा सेनाले भनेकाे छ, ‘करिडोर संवेदनशील मुद्दा हो। बंगलादेश सेनाले राष्ट्रिय सुरक्षामा सम्झौता हुने कुनै कार्यमा कहिल्यै संलग्न हुने छैन।’
गत हप्ता बंगलादेशमा अन्तरिम सरकार र सेनाबिचको तनाव बाहिर आएको थियो। सेना प्रमुख जनरल वकार-उज-जमानले यो वर्षको डिसेम्बरपछि आम चुनाव स्थगित गर्नु सही नभएको बताएका थिए।
उनले युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारलाई संवेदनशील राष्ट्रिय मुद्दामा निर्णय लिने नैतिक वा संवैधानिक अधिकार नभएको भन्दै चेतावनी समेत दिए। राखिन करिडोरको मुद्दामा सेनाले मार्चदेखि नै आफ्नो सहमतिबिना निर्माण गैरकानूनी हुने बताउँदै आएको थियाे।
म्यानमार सीमामा रहेको राखिन जिल्लामा मानवीय करिडोर निर्माण गर्ने योजनालाई लिएर सेना र सरकार आमनेसामने छन्। बंगलादेशका विदेश सल्लाहकार तौहीद हुसेनले अमेरिकाले प्रस्ताव गरेको राखिन करिडोरमा अन्तरिम सरकारले सहमति जनाएको घोषणा गरेका थिए।
सेनाले यो थाहा पाएपछि असन्तुष्टि व्यक्त गर्यो। सेना प्रमुख वकारले ‘रक्तपातपूर्ण करिडोर’ को रूपमा वर्णन गर्दै अन्तरिम सरकारलाई चेतावनी दिँदै भने, ‘बंगलादेश सेनाले सार्वभौमसत्तालाई हानि गर्ने कुनै गतिविधिमा संलग्न हुने छैन, न त कसैलाई यस्तो गर्न दिनेछ।’ त्यसपछि युनुस सरकार पछि हट्दै म्यानमार सीमामा राखिन करिडोरबारे कुनै देशसँग सम्झौता नभएको बताउन बाध्य भयो।
बंगलादेशमा जारी राजनीतिक उथलपुथलकाबिच मोहम्मद युनुसले प्रमुख सल्लाहकारको पदमा निरन्तरता दिने भएका छन्। पहिले राजनीतिक र सैन्य दबाबका कारण उनले राजीनामा दिन सक्ने अनुमान गरिएको थियो।
युनुसले शनिबार सल्लाहकार परिषद्को बैठक बोलाएका थिए। बैठकपछि योजना सल्लाहकार वाहिदुद्दीन महमूदले भने, ‘मोहम्मद युनुस हामीसँगै रहनेछन्।’ उनले नयाँ जिम्मेवारी पनि दिइएको बताए। समाचार एजेन्सी युएनबीका अनुसार सल्लाहकार परिषद्को बैठकपछि चाँडै मन्त्रीहरूसँग अर्को बैठक हुनेछ।
सेना प्रमुख वकार-उज-जमानले डिसेम्बरसम्ममा चुनाव गराउन स्पष्ट अल्टिमेटम दिएका छन्। विपक्षी दलहरू बीएनपी र जमात-ए-इस्लामीबिच चुनावलाई लिएर छलफल भइरहेको छ। सडक आन्दोलनको रणनीति बनिरहेको समाचार पनि आइरहेका छन्।
पूर्व प्रधानमन्त्री खालिदा जियाको बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले पनि युनुसमाथि दबाब बढाउँदै डिसेम्बरमा चुनाव गराउनुपर्ने माग दोहोर्याएको छ।
युनुसले अहिलेसम्म जनवरी-जुन २०२६ को बिचमा चुनाव गर्ने बताउँदे आएका छन्। डिसेम्बर २०२५ भन्दा अगाडि बढाइएको भनेर सेना उनीसँग असन्तुष्ट छ। उता, जमात-ए-इस्लामी पनि चुनाव स्थगित गर्ने पक्षमा छ।
पाँच वर्ष टिक्ने अपेक्षा गरिएको सरकार सेना र विद्यार्थी दबाबका कारण गम्भीर समस्यामा परेको स्रोतहरूले बताएका छन्। गृह मन्त्रालयका सल्लाहकारहरूले जनता यो सरकार पाँच वर्षसम्म सत्तामा रहोस् भन्ने चाहन्छन् भनेका छन्। तर सैन्य अधिकारीहरूले सरकार अडिग रहिरहे स्थिति नियन्त्रण बाहिर जान सक्ने चेतावनी दिएका छन्। एजेन्सी
प्रकाशित: १३ जेष्ठ २०८२ १०:५८ मंगलबार





