बङ्गलादेशका अन्तरिम सरकार प्रमुख तथा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले शनिबार देशका प्रमुख राजनीतिक दलहरूसँग भेटवार्ता गर्ने तयारी गरेका छन्। यो वार्ता सरकारमाथि बढ्दो राजनीतिक दबाबकाबिच महत्वपूर्ण मानिएको छ।
युनुसले सत्तासमर्थक र प्रतिद्वन्द्वी दलहरूसँग संवाद गर्ने कार्यक्रम छ। उनका प्रेस सचिव शफीकुल आलमका अनुसार, उनले डिसेम्बर अन्त्यमा हुने सम्भावित निर्वाचनबारे नेसनलिस्ट पार्टी अफ बङ्गलादेश (बीएनपी) का नेताहरूसँग छलफल गर्नेछन्। युनुसले बङ्गलादेशको सबैभन्दा ठूलो इस्लामवादी दल इस्लामी पार्टीका नेताहरूसँग पनि वार्ता गर्ने जनाइएको छ।
शेख हसिनाको सरकार अपदस्त भएपछि बङ्गलादेश गम्भीर राजनीतिक सङ्कटमा फसेको छ। पछिल्ला दिनहरूमा ढाकाका सडकमा व्यापक विरोध प्रदर्शन र तनाव देखिएको छ।
बीएनपीका मिडिया अधिकारी साइरुल कबिर खानले आफ्नो पार्टीबाट वरिष्ठ नेताहरू वार्तामा सहभागी हुने बताए। इस्लामी पार्टीका मिडिया प्रवक्ता अताउर रहमानले पनि सरकारबाट वार्ताको निमन्त्रणा आएको पुष्टि गरे।
बिहीबार युनुसको कार्यालय स्रोत र एक राजनीतिक सहयोगीले भने, ‘यदि प्रमुख दलहरूले समर्थन नगरे युनुसले राजीनामा दिने चेतावनी दिएका छन्।’
बुधबार बीएनपी समर्थकहरूले निर्वाचनको मिति तोक्न माग गर्दै अन्तरिम सरकारविरुद्ध सडक प्रदर्शन गरेका थिए। युनुसले निर्वासनबाट फर्किएर मुलुकको नेतृत्व सम्हालेपछि चुनावअघि लोकतान्त्रिक सुधारहरू कार्यान्वयन गर्ने आफ्नो जिम्मेवारी रहेको बताए। एएफपी
प्रकाशित: १० जेष्ठ २०८२ १४:०६ शनिबार