भारतको उत्तर प्रदेशमा २०२४ मा दुधवा वन्यजन्तु क्षेत्रबाट उद्धार गरिएको घाइते बाघको मृत्यु भएपछि चिडियाखाना एक हप्ता बन्द गरिने भएको छ। राज्य सरकारले सावधानीका लागि भन्दै यस्तो निर्णय लिएको हो।
गोरखपुर चिडियाखानामा बाघको मृत्यु भएको बाघकाे भिसेरा जाँचपछि मृत्युको कारण बर्ड फ्लु भएको पुष्टि भयो। प्रमुख वन्यजन्तु संरक्षक अनुराधा वेमुरीले पत्रकारहरूलाई भनिन्, ‘गोरखपुर, लखनउ र कानपुरका चिडियाखाना र इटावाको सिंह सफारी एक हप्तासम्म बन्द रहनेछन्।’
सरकारले सबै वन्यजन्तु आरक्षमा सतर्कता अपनाउन निर्देशन दिएको छ। मार्च ३० यता गोरखपुरमा यो चौथो घटना हो। यसअघि बहराइचबाट उद्धार गरिएको बाघ, चितुवा र ब्वाँसोको मृत्यु भएको थियो।
चिडियाखानाका कर्मचारीबाट पनि नमूना संकलन गरिएको छ। उत्तर प्रदेश सरकारले सबै चिडियाखाना एक हप्तासम्म बन्द गर्न निर्देश गरेकाे छ।
मुख्यमन्त्री योगी आदित्यनाथले मंगलबार यो विषयमा बैठक गरेका थिए। बैठकमा उनले चिडियाखाना परिसर नियमित सफा गर्न, सबै वन्यजन्तु र चराको स्वास्थ्य जाँच गर्न र उनीहरूको आहार राम्ररी जाँच गर्न निर्देशन दिए।
सरकारले राज्यका सबै कुखुरा फार्मलाई मापदण्डअनुसार कडाइका साथ अनुगमन गर्न आदेश दिएको छ। बीबीसी
प्रकाशित: ३१ वैशाख २०८२ १४:२४ बुधबार





