भारतको आदमपुर एयरफोर्स बेसमा पाकिस्तानले आक्रमण गरी एस-४०० एयर डिफेन्स प्रणाली नष्ट पारेको दाबी भ्रमक साबित भएको छ।
मंगलबार भारतका प्रधानमन्त्री मोदीले पञ्जाबको आदमपुर एयरबेस पुगेर सैनिकहरूसँग भेटघाट तथा निरीक्षण गरेका थिए।

आदमपुर भ्रमणका क्रममा सार्वजनिक गरिएका तस्बिरमा प्रधानमन्त्री मोदी एस-४०० एयर डिफेन्स सिस्टमको पृष्ठभूमिमा उभिएर सलामी दिइरहेको दृश्य देखिन्छ।
यसले पनि पाकिस्तानको दाबीलाई ‘झूटो प्रचार’ प्रमाणित गरेको भारतीय सेनाले जनाएको छ। यसअघि नै भारतीय सशस्त्र बलले पाकिस्तानको आक्रमण दाबीलाई ‘भ्रामक र तथ्यहीन’ भनेको थियो।
भ्रमणको अवसरमा प्रधानमन्त्री मोदीले वायुसेना तथा थलसेनाका जवानहरूसँग संवाद गर्दै देशको सुरक्षामा उनीहरूको साहस, समर्पण र निडरताको प्रशंसा गरे।

सामाजिक सञ्जाल ‘एक्स’ मा प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘आज बिहान आदमपुर एयरफोर्स स्टेसन पुगेर हाम्रो वीर वायुसैनिक र जवानहरूसँग भेट्न पाउँदा विशेष अनुभव भयो। उनीहरूको साहस र निडरताप्रति भारत सधैं ऋणी छ।’

भ्रमणका क्रममा भारतीय वायुसेनाका अधिकारीहरूले आदमपुर बेसको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। यसअघि, अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले सञ्चालन गरेको अपरेशन सिन्दूर पश्चात पाकिस्तानले आदमपुरमा आक्रमण गरेको दाबी गरेको थियो।
केन्द्रीय मन्त्री अश्विनी वैष्णवले पनि प्रधानमन्त्री मोदीको आदमपुर भ्रमणको भिडियो राख्दै पाकिस्तानको दाबीप्रति टिप्पणी गरेका छन्। उनले लेखेका छन्, ‘पाकिस्तानका लागि तथ्य जाँच।’
प्रकाशित: ३० वैशाख २०८२ १६:२१ मंगलबार