भारत–पाकिस्तानबीच बढेको तनावका कारण अस्थायी रूपमा बन्द गरिएका विमानस्थलहरू पुनः सञ्चालनमा आएका छन्। भारत सरकारले सोमबारदेखि ती विमानस्थलहरू नागरिक उडानका लागि खोलिएको बताएको छ।
भारत–पाकिस्तान तनावका बीच गत ७ मे मा भारतले सुरक्षा चासोका कारण ३२ वटा विमानस्थलहरू १५ मे बिहान ५ बजेर २९ मिनेटसम्मका लागि अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको थियो। अब ती सबै विमानस्थलहरू पुनः सञ्चालनमा आएका हुन्।
भारतीय विमानस्थल प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै तत्काल ती विमानस्थलहरू नागरिक उडानका लागि उपलब्ध हुने जानकारी दिएको छ। यात्रुहरूलाई उडानसम्बन्धी जानकारी लिन सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न र नियमित अद्यावधिकका लागि एयरलाइन्सको वेबसाइट हेर्न सल्लाह दिइएको छ।
यता, इन्डिगो एयरलाइन्सले सामाजिक सञ्जाल एक्समार्फत सबै विमानस्थलहरू नागरिक उडानका लागि खुलेको जानकारी दिएको छ। कम्पनीले ट्राभल एडभाइजरी जारी गर्दै सेवाहरू सामान्य हुन केही समय लाग्न सक्ने भएकाले यात्रुहरूलाई केही अतिरिक्त समय लिएर विमानस्थल पुग्न आग्रह गरेको छ।
प्रकाशित: २९ वैशाख २०८२ १५:५२ सोमबार





