पाकिस्तानले भारतसँगको युद्ध विराम (सीजफायर) सम्झौतामा पूर्ण इमानदारीका साथ पालना गर्ने प्रतिबद्धता जनाएको छ।
पाकिस्तानको विदेश मन्त्रालयले एक्स (ट्विटर) मा एक पोस्ट गर्दै युद्ध विरामको निर्णय कार्यान्वयन भइरहे पनि केही स्थानमा भारतीय सेनाले आक्रमण गरिरहेको दाबी गरेको छ। त्यस्ता अवस्थामा पनि पाकिस्तानी सैनिक संयमता र जिम्मेवारीपूर्वक व्यवहार गरिरहेको मन्त्रालयले जनाएको छ।
यसैबिच, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनः प्रशंसा गरेका छन्।
उनले एक्समा लेख्दै ट्रम्प पाकिस्तानका लागि उत्कृष्ट साझेदार रहेको उल्लेख गरेका छन्। ‘राष्ट्रपति ट्रम्पको रूपमा पाकिस्तानले एउटा यस्तो साझेदार पाएको छ, जसले दुवै देशबिचको विगतको विशेष र सशक्त सम्बन्ध पुनः जीवन्त बनाउन सक्छ,’ उनले भनेका छन्।
प्रधानमन्त्री शहबाजले व्यापार, लगानी तथा अन्य क्षेत्रहरूमा समेत सम्बन्ध मजबुत बनाउने आशा व्यक्त गरेका छन्।
शहबाजले यसअघि पनि ट्रम्पको प्रशंसा गरेका थिए। शनिबार टेलिभिजनमार्फत दिएको भाषणमा उनले भारत–पाकिस्तानबिच सीजफायर गराउन ट्रम्पले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।
यता, भ्याटिकनका नवनियुक्त पोपले पनि भारत–पाकिस्तानबिच भएको युद्ध विरामलाई सकारात्मक संकेत भन्दै खुसी व्यक्त गरेका छन्।
प्रकाशित: २८ वैशाख २०८२ १८:३५ आइतबार





