१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गीत बजाएको आरोपमा १४ जना पक्राउ

अफगानिस्तानको उत्तरी क्षेत्रमा तालिबानले सत्ता सम्हालेपछि प्रतिबन्धित वाद्ययन्त्र बजाउने र गीत गाउने १४ जनालाई शुक्रबार पक्राउ गरेको प्रान्तीय प्रहरीले शनिबार जनाएको छ।

सन् २०२१ मा तालिबानले सत्ता कब्जा गरेदेखि इस्लामी कानुनप्रति कठोर नियम लागू गर्दै आएको छ। गीतसङ्गीतलाई सार्वजनिक प्रदर्शन, जमघट, रेस्टुरेन्ट, कार, रेडियो वा टिभीमा बजाउन पूर्ण रूपमा निषेध गरिएको छ।

प्रहरीले जारी गरेको विज्ञप्‍तिअनुसार बिहीबार राति उत्तरी तखार प्रान्तको राजधानीमा ‘रातको समयको फाइदा उठाउँदै’ एक समूहले आवासीय घरमा भेला भएर वाद्ययन्त्र बजाएको र गीत गाएको थियो। ती गीतले जनतामा अशान्ति निम्त्याएको प्रशासनको आरोप छ। पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको छ।

तालिबानले सत्ता लिएपछि सङ्गीत विद्यालय बन्द गरिएका छन्। सङ्गीतले ‘नैतिक भ्रष्टाचार’ र अशान्ति निम्त्याउने भन्दै वाद्ययन्त्र र ध्वनि प्रणाली तोड्ने, फुटाउने वा जलाउने गरिएको छ।

विवाहमा सङ्गीत बजाउन प्रतिबन्ध छ, तर महिला समूहहरू गोप्य रूपमा भेला भएर गीतसङ्गीतको आनन्द लिन्छन्। धेरै सङ्गीतकार जीविकोपार्जन गुमाएर वा डरले देश छोडेका छन्।

तालिबानले पूर्व सङ्गीतकारलाई १९९६–२००१ को शासनमा अनुमति दिइएजस्तै इस्लामी कविता र मन्त्र समेटेर गीत बनाउन प्रोत्साहन गरेको छ। एएफपी

प्रकाशित: २८ वैशाख २०८२ ०७:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App