पाकिस्तानी सेनाले भारतीय आक्रमणको विरुद्धमा आफ्नो प्रतिआक्रमण सुरु गरेको जानकारी दिएको छ। पाकिस्तानी सञ्चारमाध्यमले सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै यसबारे जानकारी दिएका हुन्। यो प्रतिकार भारतले पाकिस्तानी वायुसेनाका तीन प्रमुख हवाई अड्डाहरूलाई लक्षित गरेको केही समयपछि सुरु भएको हो।
पाकिस्तानी सेनाको अन्तर–सेवा जनसम्पर्क (आईएसपीआर) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले पाकिस्तान वायुसेना(पीएएफ)को नुर खान (चकलाला, रावलपिण्डी), मुरिद (चकवाल) र रफीकी (झाङ जिल्लाको शोरकोट) हवाई अड्डाहरूलाई निशाना बनाएको बताएका छन्।
उनले भने, ‘आफ्नो खुला आक्रामकता जारी राख्दै, भारतले केही समय अघि आफ्ना लडाकु विमानहरूबाट हावाबाट सतहमा प्रहार गर्ने क्षेप्यास्त्रहरू प्रहार गरेको छ।’ तर, उनले सबै पीएएफ सम्पत्तिहरू सुरक्षित रहेको र कुनै ठूलो क्षति नभएको स्पष्ट पारे। चौधरीले थपे, ‘भारतले आदमपुरबाट छ वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ, जसमध्ये एउटा आदमपुरकै सामान्य क्षेत्रमा खसेको छ भने बाँकी पाँचवटा भारतीय पञ्जाबको अमृतसर क्षेत्रमा खसेका छन्।’
आदमपुर भारतीय पञ्जाबको जालन्धर जिल्लामा पर्दछ। उनले यो कार्यलाई ‘भारतको आफ्नै सिख र अल्पसंख्यक जनसंख्यामाथिको आन्तरिक षड्यन्त्र’ को संज्ञा दिँदै यसलाई ‘विवेकहीन र उत्तेजक’ कदम भनेका छन्।
पाकिस्तानी सेनाले आफ्नो प्रतिकारलाई ‘अपरेशन बुनयान–उल–मारसूस’ को नाम दिएको छ। यसले भारतभरका विभिन्न लक्ष्यहरूलाई निशाना बनाइरहेको उल्लेख गरिएको छ। सुरक्षा स्रोतहरूका अनुसार भारतको ब्यासमा रहेको ब्रह्मोस क्षेप्यास्त्र भण्डारण स्थललाई पहिलो चरणमा नष्ट गरिएको छ।
आईएसपीआरले भारतीय आक्रमणलाई क्षेत्रीय शान्तिमा खतरा भएको भन्दै यसको जवाफ दिन पाकिस्तान पूर्णरूपमा तयार रहेको जनाएको छ। यो पछिल्लो घटनाक्रमले दक्षिण एसियामा तनावलाई थप बढाएको छ। दुवै देशका आणविक क्षमताका कारण स्थिति थप जटिल बन्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
प्रकाशित: २७ वैशाख २०८२ ०६:२२ शनिबार