२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानले आक्रमण गरे कडा जवाफ दिन्छाैं: एस जयशंकर

भारतीय विदेशमन्त्री एस. जयशंकरले पाकिस्तानले आक्रमण गरे त्यसको कडा जवाफ दिने चेतावनी दिएका छन्।

बिहीबार ईरानसँगको कूटनीतिक वार्ताका क्रममा ‘अपरेशन सिन्धूर’ को जानकारी दिँदै उनले भारतले केवल आतंकवादी ठेगानाहरूलाई मात्र निशाना बनाएको स्पष्ट पारे।

‘हामी पाकिस्तानसँगको तनाव बढाउन चाहँदैनौं, तर यदि पाकिस्तानले हमला गर्छ भने त्यसको जवाफ दिनेछौं’, विदेशमन्त्री जयशंकरले भने।

यसअघि प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच विशेष बैठक बसेको थियो। त्यसपछि भएको सर्वदलीय बैठकमा रक्षामन्त्री राजनाथ सिंहले ‘अपरेशन सिन्धूर’ अझै जारी रहेको जानकारी दिएका थिए।

त्यसैबीच, पंजाबको फिरोजपुर क्षेत्रमा सीमा सुरक्षा बलले सीमा पार गर्दै भारत प्रवेश गर्न खोज्ने एक पाकिस्तानी घुसपैठीलाई ढालेको छ।

पाकिस्तानको सेनाले जम्मु–कश्मीरको एलओसी क्षेत्रमा लगातार गोलीबारी गरिरहेको छ। बुधबारको गोलीबारीमा एक भारतीय सैनिकसहित १४ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यम ‘भास्कर’ ले जनाएको छ। रिपोर्ट अनुसार मृतक संख्या १५ पुगेको छ।

पंजाबकै अमृतसरमा बुधबार राति बम विस्फोटजस्तै आवाजहरू सुनिएका थिए। बिहीबार बिहान त्यहाँका तीन गाउँमा रकेट फेला परेका छन्।

रक्षा विशेषज्ञहरूका अनुसार ती रकेटहरू पाकिस्तानतर्फबाट प्रक्षेपण गरिएका थिए। जसलाई भारतीय सुरक्षा प्रणालीले हवामै नष्ट गरेको हुनसक्ने अनुमान गरिएको छ।

भारतले ६ मेको राति १:०५ बजे पाकिस्तान र पाकिस्तान अधिकृत कश्मीरमा एयर स्ट्राइक गरेको थियो। त्यस क्रममा ९ वटा आतंकी शिविरलाई निशाना बनाइएको थियो। जसमा १०० भन्दा बढी आतंकवादी मारिएको भारतीय पक्षको दाबी छ।

प्रकाशित: २५ वैशाख २०८२ १५:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App