११ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायली विमानस्थल आक्रमणमा हाम्रो संलग्नता छैन : इरान

यमनी हुथी समूहले इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेपछि इरानमाथि लागेको समर्थनको आरोपलाई तेहरानले सोमबार खण्डन गरेको छ।

इरानको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत यो आक्रमण यमनको स्वतन्त्र निर्णय भएको र प्यालेस्टिनी जनताको समर्थनमा यमनसँगको एकताबाट आएको बताएको छ। आइतबार यमनबाट प्रहार भएको क्षेप्यास्त्रले विमानस्थलमा ठूलो खाडल बनाएको छ, जसमा छ जना घाइते भए र केही समय उडान अवरुद्ध भएको थियो।

हुथी समूहले ‘हाइपरसोनिक ब्यालेस्टिक मिसाइल’ प्रयोग गरी आक्रमण गरेको जिम्मेवारी लिएको छ र इजरायली विमानस्थलमा थप आक्रमण गर्ने चेतावनी दिएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आक्रमणको जवाफमा हुथी र इरानलाई कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। टेलिग्राममा प्रकाशित भिडियोमा नेतान्याहूले भनेका छन्, ‘इजरायलले विगतमा हुथीविरुद्ध कारबाही गरेको छ र यो पछिल्लो आक्रमणको भविष्यमा जवाफ दिनेछ।’

यस चेतावनीको जवाफमा इरानले सोमबार आफ्नो भूभागमा हुने कुनै पनि आक्रमणको बदला लिने चेतावनी दिएको छ। विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘इजरायल र अमेरिकाले आक्रमणको परिणामबारे सोचेर अघि बढ्नुपर्छ, इरान आफ्नो रक्षाका लागि दृढ छ।’ एएफपी

प्रकाशित: २२ वैशाख २०८२ १३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App